जुम्लाका १० गाउँ छाउगोठ मुक्त घोषणा

 असोज २६, २०७५ शुक्रबार ८:३८:१६ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लाका १० गाउँबस्ती छाउँगोठमुक्त घोषणा गरिएका छन् । पछिल्लो समय तातोपानी गाउँपालिका– ५ को लाम्रा गाउँलाई मंगलबार छाउगोठमुक्त घोषणा गरिएको हो । 

यस अघि यही गाउँपालिकाको श्रीनगर, हियाखोला र जैतपुरका बस्तीलाई छाउगोठ मुक्त घोषणा गरिसकेको छ । गएको असोज ५ गते तातोपानी गाउँपालिकाको वाइराका गाउँ पनि छाउगोठमुक्त घोषणा गरिएको थियो ।  त्यसैगरी तिला गाउँपालिकाको ढिमकोट, जोगीवाडा, रावतवाडा र पातारासी गाउँपालिकाको माथिल्होर्प र तलिल्होर्प गाउँ छाउगोठमुक्त घोषणा भइसकेका छन् ।

लाम्रा गाउँका विभिन्न महिला समूह, महिला संजाल तथा सर्वोदय नेपाल, क्याड र एक्सन वक्सजस्ता गैरसरकारी संस्थाको जनचेतना मुलक कार्यक्रममा यी गाउँमा छाउप्रथा हटाइएको हो । तातोपानी गाउँपालिका उपाध्यक्ष गंगादेवि उपाध्याका अनुसार अहिले महिलामा केही चेतनाको विकास भएको छ, अझै पनि यस विषयमा स्थानीय तहदेखि सरोकारवाला निकायहरुले जोड दिनु आवश्यक छ । यसका लागि गाउँपालिकाले पनि काम गरिरहेको छ । 

महिलाको सुरक्षादेखि रहेक विषयमा विशेष सहयोग गर्ने श्रीमान तथा परिवारलाई स्थानीय तहले सम्मानका कार्यक्रम ल्याउने तातोपानी गाउँपालिका – ५ का वडाध्यक्ष हरिबहादुर डाँगीले बताउनुभयो । समाजमा कुप्रथाको रुपमा रहेको यो चलन हटाउन सकेमा महिलाहरुको अधिकार र विकासमा सकारात्मक परिवर्तन हुने उहाँको दाबी छ । 

तीन सय ५० घरधुरी रहेको लामामा गाउँ मंगलबार औपचारिक रुपमा छाउगोठमुक्त घोषणा गर्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी स्थानीय जनप्रतिनिधि तथा आम गाउँबासीन्दाले छाउप्रथा नमान्ने प्रतिज्ञा गरेका छन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया