रुसले युक्रेनमा आक्रमण सुरु गरेको १ वर्ष पूरा, हतियार उत्पादन बढाउने रुसको तयारी

 फागुन १२, २०७९ शुक्रबार ७:३९:२१ | एजेन्सी
unn.prixa.net

रुसले युक्रेनमा आक्रमण सुरु गरेको आज शुक्रवार एक वर्ष पूरा भएको छ । रुसले गएको फेब्रुअरी २४ तारिखमा युक्रेनमा आक्रमण थालेको थियो । आक्रमणको वर्ष दिन पुगेको अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हतियार उत्पादन बढाउने वाचा गर्नुभएको छ ।

'डिफेन्डर अफ द फादरल्यान्ड डे' का अवसरमा जारी गरिएको भिडियो सम्बोधनमा राष्ट्रपति पुटिनले राष्ट्रिय सेनाबाटै राष्ट्रको स्थायित्व, विकास र भविष्य सुनिश्चित हुने बताउनुभयो । राष्ट्रपति पुटिनले युक्रेन आक्रमणलाई ‘विशेष सैन्य अभियान’ भन्दै आउनुभएको छ । रुस–युक्रेनबीच शान्ति स्थापनाका लागि निर्णायक पहल हुन सकेको छैन । दुई देशबीच युद्ध अझै लम्बिने सङ्केत देखिएको छ ।

युरोपेली सङ्घसहित सात देशको समूह 'जी सेभेन' ले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने भएको छ । संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषदमा युक्रेनमा दिगो शान्तिका लागि मतदानको तयारी गरिरहेका बेला क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका सदस्य रहेको अन्तरसरकारी मञ्च 'जी सेभेन' का मन्त्रीहरू नयाँ प्रतिबन्ध लगाउने निष्कर्षमा पुगेका हुन् ।

भारतको बेङ्लाेरमा 'जी सेभेन' का अर्थ मन्त्रीहरूबीच पनि युक्रेनलाई थप आर्थिक सहयोग गर्ने तथा रुसमाथि अझ कठोर प्रतिबन्ध लगाउने सम्बन्धमा छलफल भएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनीहरूले धेरै कठिन परिस्थिति झेलेका, उनीहरू विचलित नभएका तथा विजयी हुने बताउनुभएको छ ।

दुई देशबीच युद्ध सुरु भएयता दुवैतर्फ मानवीय तथा भौतिक क्षति भएको छ । युक्रेनलाई सघाइरहेको अमेरिकी प्रशासनले दुवैतर्फ कम्तीमा एक लाख सैनिकको ज्यान गएको हुनसक्ने जनाएको छ । तर मानवीय क्षतिको पूर्ण विवरण अहिलेसम्म सार्वजनिक हुन सकेको छैन ।

गएको वर्ष रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा दुई लाख सैनिक पठाएर आक्रमणको सुरुवात गर्नुभएको थियो । युक्रेनमा नेटोको उपस्थिति रोक्ने तथा युक्रेनको तटस्थ हैसियत रहनुपर्ने रुसको उद्देश्यअनुसार आक्रमण थालिएको थियो । पश्चिमा देशहरूले युक्रेनमा सहयोग गरी यो युद्ध जित्नुपर्ने पक्षमा देखिएका छन् । युक्रेनप्रति ऐक्यबद्धता जनाउन अमेरिकासहित पश्चिमा देशहरूका उच्च अधिकारीले किभको भ्रमणसमेत गरेका छन् । ऐक्यबद्धता प्रकट गर्न स्पेनका प्रधानमन्त्री पनि हिजो बिहीवार किएभ पुग्नुभएको छ । रुसी आक्रमणको वर्ष दिन पुग्नै लाग्दा यसै हप्ता अमेरिकी राष्ट्रपति जो बाइडेन पनि किभ पुग्नुभएको थियो । उहाँ रुसी आक्रमणपछि पहिलो पटक युक्रेन पुग्नुभएको हो ।

यो एक वर्षको अवधिमा रुसले सबैभन्दा ठूलो उपलब्धिका रूपमा दाबी गर्न सक्ने भनेको रुसको सीमादेखि क्राइमियासम्म जमिनमा पुल निर्माण गर्नु हो । क्राइमिया सन् २०१४ मा रुसमा गाभिएको थियो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया