यू–१९ विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई २ सय ४३ रनले हरायो

 फागुन १३, २०७९ शनिबार १७:२३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेट एसिया छनोटमा नेपालले कुवेतलाई २ सय ४३ रनले हराएको छ । एसिया छनोट प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो ।

आज भएको दोस्रो खेलमा नेपालले कुवेतलाई ३ सय ४४ रनको लक्ष्य दिएको थियो । तर कुवेत ३० ओभर ५ बलमा एक सय रनमा अलआउट भयो । कुवेतका क्रिस्टोफर सालधानाले २६ रन तथा रसिन मोहमदले १९ रन बनाए । किसोरी भाइ हिन्सु १६ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका आकाश चन्दले ६ तथा हेमन्त धामी र दिपेश कंडेलले समान २/२ विकेट लिए । त्यसअघि युएईको मलेक क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रन बनाएको थियो । नेपालका अर्जुन कुमाल र कप्तान देव खनालले शतक बनाएका थिए ।

कप्तान देव खनालले १ सय २५ रन र अर्जुन कुमालले १ सय ८ रन बनाए । देव र अर्जुनको करिअरको पहिलो शतक पनि हो । कुवेतका हेनरी थोमस र अर्श साहिल काज्मीले समान २/२ विकेट लिए । हैबेर अली र जय महेशकुमार मेहताले एक/एक विकेट लिए । कुबेत पहिलो खेलमा हङकङसँग पराजित भएको थियो भने नेपालले हिजोको खेलमा सिंगापुरलाई हराएको थियो ।

प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक यूएई सहभागी छन् । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली सन् २०२४ मा श्रीलंकामा हुने १९ वर्ष मुनिको विश्वकपका लागि छनोट हुनेछ ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया