डोटीकाे शैलेश्वरी अस्पतालमा पहिलाे पटक पाठेघरको अप्रेसन सफल

 फागुन १४, २०७९ आइतबार ९:३२:३४ | विमल बिष्ट
unn.prixa.net

डोटी  - डोटीको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा पहिलाे पटक महिलाको पाठेघरको अप्रेसन सफल भएकाे छ । शैलेश्वरी अस्पतालले  बिरामीलाई मध्यनजर गर्दै पाठेघरको अप्रेसनसहितका सेवा सुरु गरेकाे हाे । 

२०६९ सालमा स्थापना भएको अस्पतालले पछिल्लो समय महिलाको पाठेघरको अप्रेसन, हाड जोर्नी, हर्नियाँ, हाइड्रोशील ऐपेनडिसाइटिसको अप्रेसन  लगायतका सेवा सुरु गरेको अस्पतालका निर्देशक आइजङ्ग कुँवरले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी अस्पतालबाट प्रदान हुने सेवा सुविधा सर्वसुलभ बनाउन लागि परेका छौँ, यहाँका महिलामा पाठेघरको समस्या धेरै देखा परेको छ, यो समस्यालाई मध्यनजर गर्दै अस्पतालबाट सस्तो शुल्कमा अप्रेसन गरिरहेका छौँ ।’

यसअघि यहाँ पाठेघरको सफल उपचार नहुँदा यहाँका महिला अप्रेसनका लागि कैलाली तथा छिमेकी देश भारतका पलियाँ, सीतारगञ्ज, खटी लगायतका ठाउँमा जानुपर्ने बाध्यता थियाे । त्यहाँ उपचारका लागि जाँदा करिब ८० हजार रुपैयाँसम्म खर्च हुने गरेको पार्वती विकले बताउनुभयो । उहाँले भन्नुभयो, ‘रोग लागेका महिलाहरु उपचारका लागि भारत जान बाध्य थिए, त्यहाँ उनीहरुले हजारौँ रकम खर्च गर्नु परेको थियो, अहिले यही पाठेघरको उपचार हुने भएपछि सहज हुने आश छ ।’

शैलेश्वरी अस्पतालले अहिले दिपायलमा ३० हजार रुपैयाँमै पाठेघरको अप्रेसन गर्छ। आदर्श गाउँपालिकाकी ३५ वर्षीया कमलाले थोरै शुल्कमै शैलेश्वरीमा आफ्नो पाठेघरको अप्रेसन  सफल भएको भन्दै खुसी व्यक्त गर्नुभयो । शैलेश्वरी अस्पतालमा डोटी जिल्लाका बिरामी मात्रै नभएर अछाम र बाजुरा जिल्लाबाट पनि बिरामी आउने गरेका छन् ।

अन्तिम अपडेट: चैत १६, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया