यस्तो छ चलचित्र ‘छक्का पञ्जा ३’

 असोज २७, २०७५ शनिबार ११:२४:६ | उज्यालो सहकर्मी

काठमाडौं – यस वर्षकै प्रतिक्षित चलचित्र छक्का पञ्जा ३ यतिबेला प्रदर्शन भइरहेको छ ।

आमा सरस्वती मुभिज प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रले ओपनिङ नै बम्पर गरेको छ । चलचित्रका निर्माता तथा निर्देशक केही समयअघि हास्य टेलिचलचित्रमै रमाइरहेका थिए । तितोसत्य, मेरी बास्सै, जिरे खुर्सानीलगायतका हास्य टेलिशृङ्खला निर्माण गरिरहेका तिनै हास्यकलाकारहरुले एकपछि अर्को सफल चलचित्र निर्माण गरिरहेका छन् ।

‘छ एकान छ’ बाट सुरु भएको यो यात्रा ‘वडा नम्बर छ’, ‘छक्का पञ्जा’, ‘छक्का पञ्जा २’ हुँदै ‘छक्का पञ्जा ३’ मा आइपुगेको छ । हरेक चलचित्रले एकपछि अर्को रेकर्ड राख्दै आइरहेको छ । प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ३’ ले २ दिनमै २ करोडको ग्रस कलेक्सन गरिसकेको छ । हास्यकलाकारहरुलाई चलचित्रनगरीको लिड रोलमा उभ्याउनका लागि यो ब्यानरले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्दा फरक पर्दैन । दीपाश्री निरौला त्यस्ति निर्देशक हुन् जसले निर्देशन गरेका चलचित्रहरुले घाटा चाख्नु परेको छैन । बरु नेपाली चलचित्र नगरीमा झण्डै २० करोडको व्यापार असम्भव छैन भन्ने उदाहरण प्रस्तुत गरेकी छिन् ।

दिपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल र केदार घिमिरेको सहकार्यमा उनीहरुले चलचित्र निर्माण गर्दै आएका छन् । दर्शकको रुचिअनुसारको चलचित्र निर्माण गर्न माहिर छन् उनीहरु । आमा सरस्वती मुभिज प्रालिको ब्यानरमा हरेक वर्ष एउटा चलचित्र निर्माण गर्ने तर दर्शकले रुचाउने विषयवस्तुको अध्ययन गरेर सफल चलचित्र निर्माण गर्ने उनीहरुले सिद्दान्त नै बनाएका छन् भन्दा पनि हुन्छ । त्यसका लागि उनीहरुले आफ्नो ब्यानरबाहेकका चलचित्रहरुमा काम नगर्ने सम्झौता नै गरेका छन् । काम गरे पनि सबैको सहमतिमा गर्ने उनीहरुको धारणा छ ।

आमा सरस्वती मुभिज प्रालिको ब्यानरमा निर्माण भएको पाँचौँ चलचित्र हो ‘छक्का पञ्जा ३’ । यो चलचित्र घटस्थापनाका दिनबाट रिलिज भएको छ । यसअघिका चलचित्रहरु मनोरञ्जनका खुराकका रुपमा मात्र लिइने गरिएको थियो । तर ‘छक्का पञ्जा ३’ ले भने मनोरञ्जनसँगै नेपालमा रहेको शिक्षा प्रणालीमाथि चोटिलो व्यङ्ग्य प्रस्तुत गरेको छ । त्यससँगै आर्थिक सम्पन्नता र विपन्नता भएका मानिसहरुलाई गरिने व्यवहार, एउटै समुदायमा बसोवास गर्ने मानिसमा हुने गरेका जातीय विभेदलगायतका कुराहरुलाई समेत चलचित्रले आकर्षक शैलीमा प्रस्तुत गरेको छ ।

चलचित्रमा झुले बस्ती नामक एउटा गाउँ छ ।  त्यही गाउँमा बसोवास गर्ने मानिसहरुको वरिपरि चलचित्रको कथा घुमेको छ । गाउँमा एउटा सामुदायिक विद्यालय छ । विद्यालयको नामखानी डाँडा माध्यामिक विद्यालय राखिएको छ । गाउँका काजी(नीर शाह)विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन्छन् । उनी आउँदै गरेको चुनावको तयारीमा छन् । उनले टिकट पाउने लगभग पक्का भइसकेको हुन्छ । तर त्यही गाउँमा बस्ने वाङ्देल (शिशिर वाङ्देल)उनको राजनीतिक यात्रामा तगारो बनेर उभिन्छन् । उनी विद्यालयमा भएको राजनीतिका कारण चलेको मनोमानीमा असन्तुष्ट देखिएका छन् । काजीका भाइ र छोराले भने त्यसै गाउँमा निजी विद्यालय सञ्चालन गर्दै आएका छन् ।

गाउँमा हुने सानादेखि ठूला कार्यक्रमहरु त्यही सामुदायिक विद्यालयमा गरिने हुँदा विद्यार्थीहरुको अध्ययनअध्यापन लथालिङ्ग नै भइसकेको छ । विद्यालयमा शिक्षक त छन् तर उनीहरु आफ्नै बाहिरी खेतीपातीमै व्यस्त छन् । ७ कक्षा पढेकोे जँड्याहा बाबु छोराको खेताला शिक्षक बनेर पढाउन गएका छन् । सबैको आ–आफ्नै ताल छ । तर विद्यार्थीहरुको भविष्यको मतलब कसैलाई छैन ।

यत्तिकैमा काजीको राजनीति धरापमा पर्दै जान्छ । आफ्नो प्रयासले मात्र काम नबन्ने खतरा बढेपछि पण्डितको सल्लाहअनुसार आफूलाई छोडेर गएकी श्रीमतीसँग बस्दै आएको राजा(दिपकराज गिरी) लाई गाउँमा झिकाउछन् ।

गाउँमा राजाको प्रवेशले राजनीतिमा अर्कै रुप लिन्छ । यो नै ‘छक्का पञ्जा ३’ को मुख्य विषयवस्तु हो । नेपालमा धेरै विद्यालयहरु छन्, जहाँ पढाईभन्दा आफ्नो राजनीतिको सुरुवात गर्ने थलोका रुपमा लिने गरिन्छ । तिनै सामुदायिक विद्यालयको प्रतिनिधित्व खानीडाँडा माध्यामिक विद्यालयले गर्छ । 

देशको विकासका लागि भनेर राजनीतिमा लागेका व्यक्तिहरुले उठान गर्नुपर्ने विषयवस्तुलाई चलचित्रले गम्भीर शैलीमा उठान गरेको छ  । सरकारले सोच्न आवश्यक विषयलाई चलचित्रले व्यंग्यात्मक शैलीमा प्रस्तुत गरेको छ । सरकारले सामुदायिक विद्यालयमा ठूलो लगानी गरेको छ । तर लगानी गरे अनुसारको शिक्षा प्रणालीमा विकास हुन सकेको छैन । त्यसको मुख्य कारण विद्यालयमा हुने चरण राजनीति नै मुख्य कारण भएको चलचित्रमा पनि देखाइएको छ ।

चलचित्रका मुख्य कलाकारले आफ्नो भूमिकालाई न्याय गरेका छन् । चलचित्रमा केदार घिमिरे ‘माग्ने बुढा’को हरेक ठाउँमा हुने इन्ट्रीले दर्शकलाई मज्जाले हँसाएको छ । नवकलाकार अहाना पोखरेलले गरेको भूमिकालाई निकै आकर्षक शैलीमा प्रस्तुत गरिएको छ चलचित्रमा निर्देशक दीपाश्री निरौलाको मिहेनत अहम देखिएको छ । यसैगरी लेखनको कोणबाट दिपकराज गिरीको मिहिनेत चलचित्रमा अझ बढी देखिन्छ । यस्तै दिपकराज गिरी,जितु नेपाल, केदार घिमिरे र यमन श्रेष्ठले मिलेर तयार गरेको संवादले दर्शकलाई राम्रैसँग हँसाएको छ ।

समग्रमा चलचित्र उत्कृष्ट बनेको छ । चलचित्रको हास्यशैली र उठान गरिएको विषयबस्तुले दर्शकको मन जित्न सफल भएको छ । 

 


– उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया