प्रदेश १ को नाम 'कोशी'

 फागुन १७, २०७९ बुधबार २२:४३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रदेश १ को 'कोशी' कायम भएको छ । प्रदेश सभाको आज बुधवार बसेको बैठकको दुई तिहाइ बहुमतले प्रदेशको नाम कोशी नामकरण गरेको हो । योसँगै प्रदेश संरचना कार्यान्वयनमा आएको ५ वर्षपछि प्रदेशले नाम पाएको हो ।

प्रदेशको नाम कोशी राख्न एमालेका सांसद रामबहादुर मगरले प्रस्ताव गर्नुभएको थियो । त्यो प्रस्तावमा मत विभाजन हुँदा पक्षमा ८२, विपक्षमा चार मत परेको हो । मतदान प्रक्रियामा छ जना सांसद अनुपस्थित थिए ।

नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेश नं १ को दोस्रो सभाको पहिलो अधिवेशनको १३ बैठकबाट प्रदेश नं १ को नाम प्रदेश सभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट कोशी प्रदेश नामकरणसम्बन्धी प्रस्ताव सदनमा पेस भएको थियो ।

प्रस्तावको पक्षमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाले समर्थन गरेका थिए । 

नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेश सभा सदस्य कमलप्रसाद जबेगुले संयुक्तरूपमा संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो । प्रदेश सभा बैठकमा राजेन्द्रकुमारको संशोधन प्रस्ताव टेबल गरेपछि ध्वनी बहुमतले अस्वीकृत भएको थियो ।

कोशी प्रदेशको प्रस्तावमाथिको छलफलमा १५ जना प्रदेश सांसदले भाग लिनुभएको थियो । प्रदेश सांसदहरूले उठाएको प्रश्नको जवाफ त्यस प्रस्तावका प्रस्तावक एमालेका प्रदेश सांसद रामबहादुर मगरले दिनुभएको थियो । 

प्रदेशको स्थायी राजधानी भने प्रदेश सभाले पहिलो कार्यकालमै २०७६ वैशाख २३ गते विराटनगर तोकेको थियो ।

कोशी प्रदेश सभामा ९३ जना सांसद छन् । जसमा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका छ, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक जना सांसद छन् ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया