राष्ट्रपति चुनाव : आठ दलीय गठबन्धनको प्रदेशस्तरीय अभिमुखीकरण आजदेखि

 फागुन १९, २०७९ शुक्रबार ७:४९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रपतिको चुनावका लागि आठ दलीय गठबन्धनले आजदेखि प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम सुरु गर्दै छन् । गठबन्धनले आज बाग्मती प्रदेश सभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गर्दैछ ।

यो कार्यक्रम काठमाण्डौको नयाँ बानेश्वरमा रहेको एक होटलमा हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । आउँदो २५ गते हुने चुनावमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता रामचन्द्र पौडेललाई विजयी गराउन नेपाली कांग्रेसका उप सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरु रहनेगरी संयन्त्र गठन गरिएको छ ।

संयन्त्रको निर्णय अनुसार बाग्मतीसहित सबै प्रदेशमा अभिमुखीकरण कार्यक्रम हुनेछ । यसअघि हिजो गठबन्धनले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदका लागि शीर्ष नेताको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम गरेको थियो । राष्ट्रपति चुनावका लागि मनोनयनको अघिल्लो दिन गएको फागुन १२ मा आठदलीय गठबन्धन बनेको थियो । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले कांग्रेसका नेता रामचन्द्र पौडेललाई समर्थन गरेका छन् ।

आठदलीय गठबन्धन सकेसम्म मत क्रस हुन नदिने गृहकार्यमा छ । त्यसैअनुरुप  २३ गतेसम्ममा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सदस्यलाई काठमाण्डौमा उपस्थित हुन आठ वटै राजनीतिक दलले निर्देशन समेत दिएका छन् । 

राष्ट्रपति पदका लागि उम्मेदवारद्वय नेपाली कांग्रेसका नेता पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ पनि आफ्नो पक्षमा मत माग्न व्यस्त हुनुहुन्छ । नेम्वाङले हिजो नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका नेतासँग भेट गर्नुभएको थियो ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासँग पनि मत माग्नुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई लिखित पत्र पठाएर आ–आफ्नो उम्मेदवारको पक्षमा मत मागिसक्नुभएको छ ।

राष्ट्रपतिका उम्मेदवार पौडेलले पनि सबै दलका सांसदलाई छुट्टै पत्र लेखेर मत माग्नुभएको छ । राष्ट्रपतिको चुनावमा भाग लिने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कुल मतभार ५२ हजार ६ सय २८ छ । राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार ३ सय १५ मत ल्याउनुपर्छ ।

गठबन्धनसँग अहिले ३१ हजार ९ सय १७ मत छ । एमालेको कुल मतभार १५ हजार ३ सय १२ छ । एमाले अहिले तटस्थ रहेका केही साना दल र आठदलीय गठबन्धनबाट मत क्रस गराउने प्रयासमा देखिएको छ । आउँदो २५ गते हुने राष्ट्रपति चुनावका लागि पौडेल र नेम्वाङले गएको १३ गते मनोनयन दर्ता गर्नुभएको थियो ।

अन्तिम अपडेट: कात्तिक २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया