खाेटाङ : बाक्सिलामा विद्युत् प्राधिकरणको निर्माणाधीन सब–स्टेशनकाे काम अलपत्र

 फागुन १९, २०७९ शुक्रबार १२:२३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

खाेटाङ - खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला (सिमपानी) मा नेपाल विद्युत् प्राधिकरणको निर्माणाधीन सब–स्टेशनकाे काम अलपत्र परेको छ ।

भारतीय ठेकेदार कम्पनी एटुजेड इन्फ्रा इन्जियरिङ लिमिटेडले बुइँपा–बाक्सिला प्रसारण लाइन, ट्रान्सफर्मर जडान गर्ने र सब–स्टेशन निर्माणको काम तीन वर्षमा सम्पन्न गर्नेगरी २०७३ साल भदौमा सम्झौता गरेको थियो ।

ठेकेदार कम्पनीले बुइँपा–बाक्सिला ३३ केभि र ११ केभि प्रसारण लाइनको काम पूरा गरे पनि ट्रान्सफर्मर थप गर्ने र सब–स्टेशन निर्माणको काम अलपत्र पारेको हो । सब–स्टेशनको बाँकी काम पूरा गर्नका लागि पटक–पटक विद्यूत् प्राधिकरण पुग्दा पनि सुनुवाइ नभएको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो । 

सम्झौता अनुसार २०७६ सालमै बनिसक्नुपर्ने सब–स्टेशनको क्वाटर र कन्ट्रोल बिल्डिङको काम अधुरै छ । निर्माणस्थलमा सब–स्टेशनको विद्युतीय उपकरणहरु असरल्ल छरिएका छन् । खुला चौरमा थुपारिएका कतिपय उपकरण टुटफुट र काम नलाग्ने अवस्थामा पुगेको अनुमान छ । कतिपय संरचनाको पिलर मात्र ठड्याइएको देखिन्छ । विराटनगरमा रहेका ट्रान्सफर्मरहरु निर्माणस्थलमा लगिएकै छैन । सब–स्टेशन निर्माणमा ढिलासुस्ती हुँदा सेवाग्राही गुणस्तरीय विद्युत् सेवाबाट वञ्चित छन् । 

केपिलासगढी र ऐँसेलुखर्क गाउँपालिका तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उत्तरी क्षेत्रका सेवाग्राहीलाई लक्षित गर्दै बाक्सिलामा सब–स्टेशन निर्माणको काम थालिएको थियो । पटक–पटक पेटी ठेकेदार परिवर्तन हुँदा सब–स्टेशन र ट्रान्सफर्मर जडानको कामले गति लिन नसकेको नेपाल विद्युत् प्राधिकरणको वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना प्रमुख बोधराज ढकालले बताउनुभयो । बाँकी काम सम्पन्न हुँदासम्ममा आयोजनाको कुल खर्च करिब ११ करोड रुपैयाँ पुग्ने प्राधिकरणले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया