अप्रिल १ देखि विदेशी पर्यटक विना गाइड पदयात्रामा जान नपाउने

 फागुन १९, २०७९ शुक्रबार १६:१२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सरकारले विदेशी पर्यटकहरूलाई विना गाइड पदयात्रामा जान प्रतिबन्ध लगाएको छ । यसअघि पर्यटकहरू एक्लै पनि पदयात्रामा जान पाउने व्यवस्था रहेकोमा पर्यटकहरूको सुरक्षालाई ध्यान दिएर विना गाइड पदयात्रामा जान नपाउने व्यवस्था गरेको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो । यो नियम आउँदो अप्रिल १ देखि लागू हुने छ ।

यो समय हिमाली क्षेत्रमा पदयात्राका लागि उपयुक्त समय हो । पर्यटन व्यवसाय सामान्य रहेको अवस्था अर्थात् कोरोना महामारीअघि सन् २०१९ मा झन्डै ५१ हजार पर्यटक विना गाइड पदयात्रामा जानका लागि नेपाल आएका पर्यटन बोर्डको तथ्याङ्क छ । उनीहरू नेपाल पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर एक्लै भ्रमणमा गएका थिए । यस्ता पर्यटकहरू दुर्घटनामा पर्दा उद्धारमा समस्या हुनुका साथै लुटपाटलगायतका समस्या पनि देखिन थालेकाले सुरक्षा, उद्धार र व्यवस्थापनलाई ध्यान दिएर यस्तो व्यवस्था गरेको निर्देशक लामिछानेले बताउनुभयो ।

अब पर्यटकहरू कम्पनीमार्फत नेपाल आएर गाइडका साथमा मात्रै पदयात्रामा जान पाउनेछन् । बोर्डले विना गाइड घुम्ने पर्यटकहरूका लागि जारी हुने टिम्स कार्ड बन्द गरेसँगै अब सबै पर्यटकलाई एकै प्रकारको टिम्स कार्ड वितरण गर्नेछ ।

पर्यटन व्यवसायी तथा मजदुरहरूले लामो समयदेखि विना गाइड पदयात्रा गर्न पाउने व्यवस्था खारेज गर्न माग गर्दै आएका थिए । पर्यटन व्यवसायी कामी शेर्पाले विना गाइड पर्यटक पदयात्रामा जान पाउने व्यवस्था खारेज हुँदा पर्यटकको सुरक्षा र नेपाली गाइडहरूको रोजगारी दुवै बढ्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया