मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

 फागुन १९, २०७९ शुक्रबार १७:४६:१२ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई जनामा मिर्गौला र एक जनामा कलेजोको सफल प्रत्यारोपण गरिएको छ । 

आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले एक व्यक्तिबाट प्राप्त अङ्गलाई तीन जनामा सफल प्रत्यारोपण भएको जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो, ‘गएको मङ्गलवार गाडी दुर्घटनाबाट मस्तिष्क मृत्यु भएकी १७ वर्षीया युवतीबाट केन्द्र र भारतीय चिकित्सकको टोलीले तीन जनामा मिर्गौला र कलेजोको सफल प्रत्यारोपण गर्न सफल भएको छ ।’

दुर्घटनामा परि मस्तिष्क मृत्यु भएकी ती युवतीबाट रुपन्देही मायादेवी गाउँपालिका–४ पविका ४७ वर्षीय पुरुष र सिरहाको सिराहा नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । साथै ललितपुर महानगरपालिका–२५ का ६८ वर्षीय पुरुषलाई कलेजो प्रत्यारोपण गरिएको थियो ।   

केन्द्रले २०७४ वैशाख २८ गतेदेखि पहिलो पटक मस्तिष्क मृत व्यक्तिको अङ्गबाट प्रत्यारोपण सुरु गरेको थियो । अहिलेसम्म केन्द्रमा पाँच जना व्यक्तिबाट अङ्ग प्राप्त गरी १३ जनामा प्रत्यारोपण भएको डा. श्रेष्ठले जानकारी दिनुभयो ।   

डा. श्रेष्ठका अनुसार हरेक वर्ष एक हजार जनाको मस्तिष्क मृत्यु हुने गर्छ तर अत्यन्त न्यून सङ्ख्यामा अङ्ग दान हुने गरेको छ । मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐनको पहिलो संशोधन २०७२ अनुसार अस्पतालले समन्वय इकाइमार्फत केन्द्रलाई जानकारी दिनुपर्ने प्रावधान भए पनि अस्पतालले जानकारी दिन हिचकिचाहट गर्ने गरेको डा. श्रेष्ठले बताउनुभयो ।   

‘विश्वमा ८० प्रतिशत प्रत्यारोपण दुर्घटनामा परि मस्तिष्क मृत्यु भएकाबाट प्राप्त हुने गर्छ । तर नेपालमा अस्पतालले केन्द्रलाई जानकारी दिन हिचकिचाउने र सर्वसाधारणमा यससम्बन्धी चेतनाको अभावका कारण दान गर्नेको सङ्ख्या न्यून रहेको छ’, उहाँले भन्नुभयो ।   

मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जनचेतनाको अभावका कारण अङ्ग प्रत्यारोपणका लागि अङ्ग दान गर्नेको सङ्ख्या बढ्न नसकेको बताउनुभयो । 

कलेजो प्रत्यारोपणमा डा. रोशन घिमिरे, डा. ललितकुमार दास र भारतीय प्रत्यारोपण विशेषज्ञ चिकित्सकको सहभागिता थियो । मिर्गौला प्रत्यारोपण कार्यमा प्रा. डा. राकेशकुमार वर्मा, प्रा. डा. पवन चालिसे, डा. दिपेश श्रेष्ठ, डा. रविकिरण गौतम, डा. हरि बराल र डा. रोजन अधिकारीलगायत सर्जरीमा कार्यरत चिकित्सकको सहभागिता थियो । एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा र डा. रश्मित श्रेष्ठको सहभागिता थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया