नेपाली क्रिकेट : क्यानको विवाद समाधानतर्फ, आईसीसीको निलम्बन फुकुवा हुने अपेक्षा

 असोज २७, २०७५ शनिबार १९:२९:४२ | रासस
unn.prixa.net

काठमाडौं – झण्डै तीन वर्षदेखि नेपाली क्रिकेटमा देखिएको समस्या समाधान हुने भएको छ ।

निर्वाचित नेपाल क्रिकेट सङ्घ ९क्यान०ले शनिबार विज्ञप्ति जारी गर्दै अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएसँगै क्यान विवाद समाधानतर्फ उन्मुख भएको हो । कात्तिक १० गते क्यानको बैठक बोलाइएको छ । सोही बैठकले कानुनी र व्यवहारिक प्रक्रियाबारे छलफल गरी मुद्दा फिर्ता लिने सम्बन्धमा निर्णय गर्ने क्यानका उपाध्यक्ष दिवाकर घलेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘झन्डै साढे दुई वर्षयता अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को निलम्बनमा रहेको नेपाली क्रिकेट निलम्बन मुक्त हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।’ उपाध्यक्ष घलेका अनुसार मुद्दा फिर्ताको कानुनी र व्यवहारिक प्रक्रियाबारे छलफल गरी मुद्दा फिर्ता लिने सम्बन्धमा निर्णय गर्न आउँदो कात्तिक १० गते क्यान निर्वाचित समितिको बोर्ड बैठक बोलाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली क्रिकेटलाई निलम्बन मुक्त बनाउने प्रयासमा हामी सधैं जिम्मेवार र सहयोगी भूमिकामा प्रस्तुत भइरहेका छौँ, हामी शुरुवातबाट नै आइसीसीले गठन गरेको सल्लाहकार समूह र मनिटरिङ कमिटीमा सहभागी भएर मात्रै नभई आइसीसी र अन्य सरोकारवालाले भने झै परिमार्जित विधानलाई विशेष साधारणसभाबाट हुबहु पारित गरेर नेपाली क्रिकेटलाई निलम्बन मुक्त बनाउने प्रक्रियामा सहयोग गरिरहेका छौँ ।’

विज्ञप्तिमा आफूहरुको जिम्मेवारीपूर्ण र रचनात्मक सहयोगका कारण नै पुरानो विधानलाई संशोधन गरी संशोधित विधानअनुसार जिल्ला निर्वाचन समेत सम्पन्न भइसकेको र अहिले परिमार्जित बिधानअनुसार गठन भएको पाँच सदस्यीय मनिटरिङ कमिटीले जिल्ला निर्वाचनको अध्ययन गरिरहेको जनाइएको छ ।
यसअघि २०७२ मङ्सिरमा भएको क्यानको निर्वाचनलाई राष्ट्रिय खेलकुद परिषदले मान्यता नदिएपछि क्रिकेटमा विवाद शुरु भएको थियो ।

परिषदले निर्वाचित समितिलाई मान्यता नदिएर तदर्थ समिति गठन गरेको थियो । त्यसपछि निर्वाचित समितिले सर्वोच्चमा मुद्दा दायर गरेको थियो । सर्वोच्चले अन्तरिम आदेश दिएपछि तदर्थ समितिले काम गर्न पाएको थिएन ।

यसैबीच आन्तरिक विवाद र सरकारी हस्तक्षेप भएको भन्दै आइसीसीले क्यानलाई ०७३ वैशाखमा निलम्बन गरेको थियो । त्यसपछि आइसीसीले नै नेपाली क्रिकेटको व्यवस्थापन हेर्दै आएको छ । २०७२ मा सर्वोच्च अदालतमा दायर मुद्दा भने अहिले पनि विचारधीन छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया