नेपालले यूएईलाई हरायाे, साेझै विश्व कप छनाेट खेल्ने सम्भावना कायमै

 फागुन २२, २०७९ सोमबार १८:४५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई ४२ रनले हराएकाे छ । लिग–२ मा नेपालले यूएईमाथि पहिलाे जित निकालेकाे हाे ।

नेपालले दिएकाे २ सय ३० रनकाे लक्ष्य पछ्याएकाे यूएई ४५ ओभरमा १ सय ८७ रनमा अलआउट हुँदै रनमात्र बनाउन सक्याे । यूएईका लागि आसिफ खानले ८२ र आर्यन लाक्राले ५० रन बनाए । बलिङतर्फ नेपालका लागि साेमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ३/३ विकेट लिए । यस्तै सन्दीप लामिछाने, करण केसी र आरिफ शेखले १/१ विकेट लिए ।

यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २९ रन बनायाे । ६८ रन बनाउँदा ५ विकेट गुमाएकाे अवस्थामा मध्यक्रमका ब्याटरले उत्कृष्ट ब्याटिङ गरेका थिए ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ७० रन बनाए । यस्तै आरिफ शेख ४३, कुशल मल्लले ३२ र सन्दीप लामिछानेले २७ रन बनाए । बलिङतर्फ जुनैद सिद्दिकीले ३ तथा राेहन मुस्तफा र आर्यन लार्काले २/२ विकेट लिए ।

यस शृङ्खलामा नेपालले ४ खेल खेल्दा ३ मा जित निकाल्याे । नेपालले पीएनजीलाई २ वटै खेलमा हराउँदा यूएईसँग १ मा जित र १ मा हार बेहाेर्‍याे । याे जितसँगै नेपालले साेझै विश्व कप छनाेट खेल्ने सम्भावना कायमै राखेकाे छ ।

याे जितसँगै नेपाल लिग–२ काे अङ्क तालिकामा पाँचाैँ स्थानमा उक्लिएकाे छ । ३२ खेल खेलेकाे नेपालकाे ३२ अङ्क छ । उति नै खेल खेलेकाे यूएई ३१ अङ्कसहित तालिकाकाे छैटाैँ स्थानमा छ । पीएनजी ३२ खेलमा ९ अङ्कसहिता तालिकाकाे पुछारमा छ । 

लिग–२ को शीर्ष ३ मा रहने टिमले जिम्बाब्वेमा हुने १० टिम सम्मिलित विश्व कप क्वालिफायर खेल्न पाउनेछन् । स्कटल्यान्ड र ओमानले शीर्ष दुईमा रहेर विश्व कप छनोटमा स्थान पक्का गरिसकेका छन् । तेस्रो हुनका लागि नेपाल, यूएई र नामिबिया प्रतिस्पर्धामा छन् ।

३६ खेल खेलिसकेको नामिबिया ३९ अङ्कसहित तेस्रो स्थानमा छ र नेपालले नामिबियालाई पछि पार्न बाँकी रहेका ४ वटै खेल जित्नुपर्नेछ । अब नेपालले बाँकी सबै खेल जितेमा लिग–२ मा तेस्रो हुने सम्भावना कायम रहन्छ । यदि हारेमा शीर्ष ५ मा रहेर एकदिवसीय मान्यता जोगाउने अवसर बाँकी रहन्छ । नेपालले बाँकी रहेका ४ मध्ये २ खेल जिते शीर्ष ५ मा स्थान पक्का गर्नेछ ।

लिग–२ मा अब बाँकी ४ खेल नेपालकाे घरेलु मैदानमै हुनेछ ।यूएईका लागि पनि नामिबियालाई पछि पार्दै तेस्रो स्थानमा पुग्न नेपालसँगकाे खेल जित्नैपर्ने अवस्था छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • Krishna Khatri

    March 6, 2023, 7:57 p.m.

    nepal sandep is best player

  •  0 Reply

तपाईको प्रतिक्रिया