लाेकेश बमले शतक बनाए पनि नेपालकाे 'ए' टाेली आयरल्यान्ड–उल्भ्स...
चैत १६, २०८० शुक्रबार
दसैँको लागि गाउँ घर जानेको चाप ह्वात्तै बढेको छ । अहिलेसम्म दसैँका लागि भनेर १३ लाख भन्दा धेरै यात्रुले काठमाडौं छोडिसकेका छन् ।
दसैँमा यात्रु र गाडीको चाप बढेसँगै दुर्घटना पनि बढेको छ । पछिल्लो ५ दिन यता गाडी दुर्घटनामा ३४ जनाले ज्यान गुमाएका छन् ।
प्रहरीको तथ्याङक अनुसार घटस्थापनाका दिनदेखि आज सोमबारसम्ममा २१३ वटा दुर्घटना भएको छ । यी दुर्घटनामा ३४ जनाको ज्यान गएको छ भने १४५ जना घाइते भएका छन् । यस्तै, ५५ जना गम्भीर घाइते भएका छन् ।
काठमाडौं उपत्यकामा मात्रै १५१ वटा दुर्घटना भएको छ । जसमा ७ जनाको ज्यान गएको छ ।
यस्तै, धादिङ, इटहरी, कोहलपुर, अत्तरिया, बुटवल, गुल्मी लगायत ठाउँमा भएका दुर्घटनामा २७ जनाले ज्यान गुमाएको प्रहरीको अध्ययनले देखाएको छ ।
सोमबार बिहानमात्रै गुल्मीमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । यो तथ्याङकले दसैँ लागेसँगै दुर्घटनाको जोखिम पनि बढेको देखाएको छ ।
गएको वर्षको दसैँमा घटस्थापनादेखि पूर्णिमासम्म ३८० वटा दुर्घटना भएको थियो । त्यसमा १०४ जनाले ज्यान गुमाएका थिए ।
चाडपर्व सुरु भएसँगै लापरवाही पनि बढेकाले दुर्घटना बढेको प्रहरी प्रवक्ता शैलेस थापाले बताउनुभयो ।
चाडपर्व भन्दै केहीले जाँड रक्सी खाएर गाडी चलाउँदा, गाडीको भार क्षमताभन्दा धेरै यात्रु राख्दा र ग्रामीण क्षेत्रका सडकको अवस्थाका कारण दुर्घटना बढेको उहाँले बताउनुभयो ।
यस्तै दसैँ त हो नि भनेर अभिभावकले सवारी अनुमति पत्र लाइसेन्स नभएका छोराछोरीलाई मोटरसाइकल तथा स्कुटर किनिदिने गरेकाले पनि दुर्घटना बढेको पाइएको छ । चाडपर्व नजिकिएसँगै हरेक वर्ष गाडी दुर्घटना बढ्ने गरेको छ ।
चाडपर्वमा बढ्दो दुर्घटना कम गर्न भन्दै देशभर थप २३ सय प्रहरी खटिएका छन् । खटिएका प्रहरीले ठाउँ ठाउँमा सुरक्षाका साथै चालकले जाँड रक्सी खाए नखाएको बारे जाँच गर्ने गरेका छन् ।
यस्तै दुर्घटना हुन सक्ने सम्भावित ठाउँमा मोटरसाइकलसहित प्रहरी खटिएका छन् । तर यति हुँदाहुँदै पनि व्यक्ति आफैँ सचेत नहुँदा दुर्घटना बढेको प्रहरीको निष्कर्ष छ ।
दुर्घटना रोक्नका लागि यसपाली प्रहरीले चालकका लागि आराम कक्षकोसमेत व्यवस्था गरेको छ । अहिले हरेक सात प्रदेशका मुख्य मुख्य राजमार्गमा दुई –दुई वटा आराम कक्ष स्थापना गर्ने तयारी गरेको छ ।
अहिले एउटा एउटा आराम कक्ष स्थापना भइसकेको छ । थप आराम कक्ष बनाउने काम भइरहेको प्रहरी प्रवक्ता शैलेस थापाले जानकारी दिनुभयो । आराम कक्षमा चालकले कम्तिमा पनि एक घण्टा आराम गर्नैपर्ने नियम बनाइएको छ ।