नेभिगेशन
बिहीबार, असोज १, २०८३

न्याय खाेज्दै काठमाण्डाै आएका मिटर ब्याज पीडितमा ६ महिने शिशुदेखि ७८ वर्षका वृद्धसम्म

काठमाण्डाै – गएकाे चैत २ गते महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर मिटर ब्याज पीडितहरू आज ११ औँ दिन काठमाण्डौको मातातीर्थ आइपुगेका छन् । बर्दिवासबाट पैदल हिँडेका ७२ जनाको टोलीमा छ महिने शिशुदेखि ७८ वर्षका वृद्धसम्म छन् । ७२ जनाको टोलीमा ४२ जना महिला, २७ जना पुरुष र तीन जना बालबालिका छन् । जसमा छ महिनाको शिशु, तीन वर्षकी बालिका तथा १३ वर्षकी किशोरी एक जना छन् । त्यस्तै ६० वर्षमाथिका १० जना र ७० वर्षमाथिका तीन जना ज्येष्ठ नागरिकसमेत छन् ।

मिटर ब्याजविरुद्धको सङ्घर्ष समिति नेपालको आयोजनामा उनीहरूले विरोधस्वरूप पैँदल हिँडेका हुन् । गाउँ–गाउँबाट आएका पीडितहरूले र्‍यालीसँगै नाराबाजी गर्दै हिँडिरहेका छन् । मिटरब्याजी साहुले दुःख दिन थालेकाले महोत्तरीका मिटर ब्याज पीडित चैत २ गते काठमाण्डाैका लागि हिँडेका थिए ।

आज मातातीर्थ आइपुगेका उनीहरू दिउँसोको खाना त्यहीँ खाएर त्यहाँको एउटा क्लबमा बास बसेका छन् । भोलि साेमवारदेखि उनीहरू माइतीघर मण्डलामा आएर विरोध प्रदर्शन गर्ने तयारी रहेको मिटर ब्याजविरुद्धको सङ्घर्ष समितिका संयोजक मनोज पासवानले बताउनुभयो । हातमा लौरो, खुट्टामा चप्पल लगाएका मिटर ब्याजविरुद्ध पीडितहरू अब न्याय नपाई काठमाण्डौबाट नफर्किने बताउँछन् ।

प्रकाशित मिति:
थप समाज