विश्व कप छनोट प्लेअफमा नामिबियाले पीएनजीलाई ४८ रनले हरायाे

 चैत १६, २०७९ बिहिबार ६:३३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्व कप छनोट प्लेअफको हिजो भएको खेलमा पपुवा न्यु गिनी (पीएनजी) ले लगातार दोस्रो हार ब्यहोरेको छ । घरेलु टोली नामिबियाले पीएनजीलाई ४८ रनले हराएको हो । नामिबियाले दिएको ३ सय ८२ रनको लक्ष्य पछ्याएको पीएनजी ४६ ओभर २ बलमा ३ सय ३३ रनमा अलआउट भयो ।

पीएनजीका चार्ल्स अमिनीले १ सय ९ रनको शतकीय पारी खेले । कप्तान असद भालाले ५७ तथा सेसे बाउले ५४ रन बनाए । नामिबियाका रुबेन ट्रम्पलम्यान र बेर्नहार्ड स्कोल्टर्जले समान ३/३ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ८१ रन बनाएको थियो ।

नामिबियाले आफ्नो एकदिवसीय इतिहासमा बनाएको यो सबैभन्दा ठूलो योगफल हो । साथै एसोसिएट टोलीका रुपमा नामिबिया एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने टोली पनि बनेको छ । नामिबियाका कप्तान ग्रेहार्ड इरास्मसले १ सय २५ रनको शतकीय पारी खेले । निकोलस डेविनले ९० तथा जान निकोलले ६१ रन बनाए ।

पीएनजीका सिमो कमियले ५ तथा कबुआ मोरियाले २ विकेट लिए । नामिबिया २ खेलमा २ अङ्कका साथ चौथो स्थानमा रहेको छ । लगातार दोस्रो हार ब्यहोरेको पीएनजी अङ्कविहिन रहँदै पुछारमा छ ।

प्लेअफमा आईसीसी विश्व कप लिग–२ का पुछारका चार टोली नामिबिया, अमेरिका, यूएई र पीएनजीसँगै आईसीसी विश्व कप च्यालेञ्ज लिग ‘ए’ र ‘बी’ का विजेता क्यानडा र जर्सी सहभागी छन् । सिङ्गल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बाब्वेमा हुने विश्व कप छनोट खेल्न पाउनेछन् ।

विश्व कप छनोट खेलका लागि नेपाल यसअघि नै छनोट भइसकेको छ ।

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया