आईपीएल क्रिकेटमा गुजरातको विजयी सुरुवात : चेन्नाई ५ विकेटले पराजित

 चैत १८, २०७९ शनिबार ६:३८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

१६ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साबिक विजेता गुजरात टाईटन्सले विजयी सुरुवात गरेको छ । गएराति भएको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्स ५ विकेटले पराजित भयो ।

आईपीएलमा चेन्नाईसँग भएको तीन खेलमा गुजरात अपराजित रहेको छ । अहमदाबादमा चेन्नाईले दिएको १ सय ७९ रनको लक्ष्य घरेलु टोली गुजरातले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेट्टायो । गुजरातका शुभमन गिलले ६३ रन बनाए । त्यस्तै विजय शंकरले २७, रिद्धिमान शाहले २५ र इम्प्याक्ट प्लेयरका रुपमा केन विलियम्सको ठाउँमा मौका पाएका साई सुदर्शनले २२ रन बनाए ।

चेन्नाईका राजवर्धन हांगर्गेकरले ३ तथा तुसारदेश पाण्डे र रविन्द्र जडेजाले समान एक÷एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाहुना टोली चेन्नाईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो । उसका ऋतुराज गायकवाडले सर्वाधिक ९२ रन बनाए । मोईन अलिले २३ रन तथा शिबम दुवेले १९ रन जोडे । कप्तान महेन्द्रसिँह धोनी १४ रनमा अविजित रहे ।

गुजरातका मोहम्मद सामी, अल्जारी जासेफ र राशिद खानले समान दुई/दुई विकेट लिए । गुजरातले २ अंक जोडेको छ । आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया