मिटरब्याजीलाई कारबाही गर्ने अधिकारसहितकाे आयाेग बन्ने प्रक्रियामा छ : प्रधानमन्त्री प्रचण्ड

 चैत १८, २०७९ शनिबार १४:२५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितहरूको समस्यालाई स्थायीरूपमा हल गर्न सरकारले प्रक्रिया अघि बढाएको बताउनुभएको छ ।

शनिवार आज बिहान मिटरब्याज पीडितहरूसँग सरकारी निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री प्रचण्डले पीडितहरूका समस्या समाधानका लागि न्यायिक अधिकारसम्पन्न उच्चस्तरीय आयोग गठनको प्रक्रियासमेत अघि बढेको बताउनु भएकाे हाे । 

मिटरब्याजलाई सधैँका लागि अन्त्य गर्न सरकार गम्भीर रहेको बताउँदै उहाँले यसकाे दीर्घकालीन समाधानका लागि कानुन निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनु भएकाे छ । 

'मिटरब्याजी समस्यालाई लिएर मन्त्रिपरिषद् बैठकबाट नै एउटा उच्चस्तरीय आयोग बनाएर तत्काल फिल्डमा गएर कारबाही गर्नसक्ने, न्यायिक अधिकारसमेत प्रयोग गर्नसक्ने आयोग बनाइनेछ । त्यो प्रक्रिया अघि बढिसकेको छ ।'‍ उहाँले भन्नुभयो, 'यसअघि जस्तो आयोग बन्ने, प्रतिवेदन बुझाउने र त्यो थन्किने जस्तो होइन, यो आयोग  र्‍यापिड एक्सन फोर्स जस्तो गरेर जाओस्, त्यसले मान्छेलाई बोलाउने, पुर्जी काट्ने र कारबाही गर्ने खालको होस् भनेर निर्देशन दिएको छु।'

मिटरब्याज पीडितहरूको समस्याबारे आफू जानकार रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले पार्टी अध्यक्षको हैसियतमा रहेको बेला समेत मिटरब्याजीहरूमाथि कारबाहीका लागि पहल गरेको बताउनुभयो । 

‘म नेकपाको अध्यक्ष हुँदा मिटरब्याज पीडितको समस्या विस्तृतमा सुनेको थिएँ । सुरक्षाका तीनवटै सुरक्षा अङ्ग र गृहमन्त्रीलाई बोलाएर पीडितकाे समस्या तुरुन्तै समाधान गर्न आग्रह पनि गरेको थिएँ । केही मान्छे त समातिए । त्यो बेला मिटरब्याजीहरू भागाभाग पनि भए । तर यसको तर दीगो समाधान भने भएन । त्यो बेला अर्कै प्रधानमन्त्री हुनुहुन्थ्यो । यो पटक म प्रधानमन्त्री छु । यसको दिगो समाधानमा मेरो ध्यान छ।’

अहिले पनि यो समस्या पूर्णरूपमा समाधान गर्न नसके समस्याले गम्भीर रूप लिने उहाँले बताउनुभयो । '‘मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न सकियोस्, उनीहरूमाथि मुद्दा चलाउन सकियोस् भनेर ऐन बनाउने प्रक्रिया अघि बढाइएको छ । अहिले पनि यो समस्या समाधान नभए मलाई डर लागेको छ, यो कहिल्यै समाधान हुन्न त्यसैले यो समस्याको दीर्घकालीन समाधान अहिल्यै गर्नुपर्छ’ उहाँले भन्नुभयाे । 

मिटरब्याज पीडितहरू काठमाण्डाै आएकोमा समेत प्रधानमन्त्रीले धन्यवाद दिनुभयो । 'तपाईँहरू यसरी पैदल हिँडेर काठमाण्डौ आउनुभयो । तपाईँहरूको समस्या राष्ट्रियरूपमा सुनियो । अहिले पनि हाम्रो समाजमा यस्तो शोषण बाँकी नै छ भन्ने कुरा राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रियरूपमा समेत सबैले थाहा पाएँ । तपाईँहरूलाई धन्यवाद छ ।'

अहिले आफ्नै वर्ग र नागरिकसँग कुराकानी गरिरहेको अनुभूति भइरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले आफूले आश्वासन मात्रै नदिइरहेकोमा जोड दिनुभयो । 'मलाई तपाईँहरूसँग कुरा गर्दा आफ्नै वर्गसँग कुराकानी गरिरहेको अनुभूति भइरहेको छ । मैले आश्वासन मात्रै दिइरहेको छैन । यो समस्या हल हुन्छ । तपाईँहरू आश्वस्त भएर मात्र घर फर्किनुहोला ।'

प्रधानमन्त्रीसँग भेटका क्रममा पीडितहरूले उच्चस्तरीय आयोग गठन, कानुन निर्माण तथा पक्राउ पुर्जी जारी भएका र घरबार जफत भएका पीडितमाथि न्याय गर्न माग गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया