तराईमा हावाहुरी, पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

 बैशाख ६, २०८० बुधबार ७:३०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – केही दिनदेखि बढेको गर्मी अबको तीन दिन घट्ने अनुमान गरिएको छ । आज, भोलि र पर्सि हिजो अस्तिको जस्तो गर्मी नहुने मौसमविद्ले बताएका छन् ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसोपछि पश्चिमी वायुको प्रणाली नेपाल भित्रदैछ । यही प्रणालीका कारण दिउँसोपछि मौसम बद्ली भई पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना छ । आज दिउँसोपछि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसमविद् मानन्धरले जानकारी दिनुभयो । यस्तै, वाग्मती र कोशी प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा पनि पानी पर्ने अनुमान छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका जिल्लामा तीब्र गतिमा हावाहुरी चल्ने अनुमान गरिएको छ । आज भन्दा भोलि र पर्सि पश्चिमी वायुको प्रभाव धेरै पर्ने देखिएको मौसमविद् मानन्धरले बताउनुभयो । उहाँका अनुसार भोलि र पर्सि देशभर नै मौसम बद्ली हुने अनुमान छ । यसले गर्दा तापक्रम केही घट्ने अनुमान छ ।

केही दिनदेखि पानी नपर्दा र डढेलो लगायतका कारण तापक्रम ह्वात्तै बढ्दा जनजीवन प्रभावित भएको छ । खासगरी तराईका जिल्लामा गर्मी र तातो हावाको असर देखिन थालेको छ । हिजो भैरहवाको अधिकतम तापक्रम ४२ दशमलव ४ डिग्री सेल्सियस पुगेको थियो ।

यस्तै, जनकपुरको ४० दशमलव ८, नेपालगञ्जको ४० दशमलव ५ र सिमराको ४० दशमलव ३ डिग्री सेल्सियस पुगेको थियो । दीपायल, धनगढी र विराटनगरको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस भन्दा धेरै छ । आज दिउँसोसम्म गर्मी भए पनि दिउँसो पछि भने मौसम बद्ली भई धेरै ठाउँमा शीत्तल हुने अनुमान गरिएको छ । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया