होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयाे

 जेठ ३, २०८० बुधबार २०:२३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मितिनी नेपालको आयोजनामा होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२३ आज बुधवार विभिन्न कार्यक्रम गरी मनाइएको छ । सधैँको वर्षझैँ यो वर्ष पनि ‘सधैँ सँगै : विविधतामा एकता’ भन्ने विश्वव्यापी नाराका साथ यो दिवस मनाइएकाे हाे ।

कार्यक्रममा सातै प्रदेशबाट आएका झन्डै दुई सय यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिको आठ प्रेरणादायक कथा समेटिएको पुस्तक 'सधैँ सँगै, विविधतामा एकता' विमोचन तथा समुदायका एक सय ज्येष्ठ नागरिकमा गरिएको सर्वेक्षणको आधारमा तयार गरिएको तथ्यपत्र विमोचन गरिएकाे छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले पुस्तक तथा तथ्यपत्र सार्वजनिक गर्नुभयाे । पुस्तकमा साझेदार गरिएका कथाहरूले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायभित्रको विविध मुद्दा समेटिएको छ ।

मन्त्री आचार्यले फरक यौनिकता र लैङ्गिक पहिचानका कारण समाजमा लैङ्गिक अल्पसङ्ख्यक समुदायले लाञ्छना, भेदभाव, अपमान, धम्की तथा दुर्व्यवहार भाेग्नुपरेकाे बताउँदै सरकारले याे समुदायभित्रका महिलाका समस्या र मुद्दालाई प्राथमिकता दिन नसकेको उल्लेख गर्नुभयाे । उहाँले यस्ता समस्या समाधान गर्ने, समुदायको माग समेटेर हौसला र मनोबल बडाउनेसँगै समुदायले खोजेको अधिकार स्थापित गर्ने वाचा पनि गर्नुभएको छ । 

यस्तै राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले लैङ्गिक न्यायका लागि काम गर्दा समानता, अधिकार र सशक्तीकरणका कुरा कार्यान्वयन गराउन र अनुभूति गराउन अनुगमन गर्ने र सरकारलाई सिफारिस गर्ने गरेको बताउनुभयो ।

कार्यक्रमका राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयाेग पनि लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार स्थापनाका लागि लागिपरेकाे बताउनुभयो । नेपालमा अझै पनि लैङ्गिक अल्पसङ्ख्यक समुदायको पहिचान, विवाहदेखि कानुनी वैधानिक प्रावधानका समस्याको बारेमा सोच्ने, छलफल गर्ने र निकाश निकाल्न सरकारले ध्यान दिनुपर्ने उहाँकाे भनाइ छ । 

वरिष्ठ महिला अधिकारकर्मी रिता थापाले पनि मानव अधिकार, महिला अधिकारसँगै मितिनी नेपाललगायतका संस्था एकै ठाउँ जुटेर काम गर्न नसके समाजबाट लैङ्गिक अल्पसङ्ख्यक समुदायको समस्या समाधान नहुने र देश नै अप्ठेराेमा पर्ने बताउनुभयो । लैङ्गिक अल्पसङ्ख्यक समुदायकाे हितका लागि आफूले निरन्तर साथ, सहयोग र सहकार्य गरिरहने उहाँकाे प्रतिबद्धता छ ।

मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसीका अनुसार विश्व स्वास्थ्य सङ्गठनले १७ मे १९९० मा समलैङ्गिकतालाई मानसिक रोगको सूचीबाट हटाई समलैङ्गिकता हुनु प्राकृतिक प्रक्रिया हो भनी घोषणा गरिएको दिनको स्मरण गर्दै हरेक वर्ष १७ मे मा यौनिक तथा लैङ्गिक विविधता भएका समुदायले यो दिवस मनाउने गर्दछन् ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया