नेभिगेशन

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–२ ले स्थानीय आलु खरिद गरी बिक्रीका लागि काठमाण्डौ पठायो

काठमाण्डौ – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका वडा नम्बर २ ले किसानहरुले उत्पादन गरेको आलु सङ्कलन गरी बिक्रीका लागि काठमाण्डौ पठाएको छ ।

गाउँमा उत्पादन भएको आलु स्थानीय बजारले धान्न नसकेपछि वडा कार्यालयले सङ्कलन गरेर काठमाण्डौ पठाएको वडाअध्यक्ष युजन बस्नेतले जानकारी दिनुभयो । 

आलु गाउँपालिकाको कृषी एम्बुलेन्समार्फत काठमाण्डौ पठाएको उहाँले बताउनुभयो । 

गाउँबाट सङ्कलन गरेको आलु काठमाण्डौमा रहेका थुलुङ दुधकोशी गाउँपालिकावासीलाई नै सुलभ मूल्यमा उपलब्ध गराउने वडा कार्यालयले जनाएको छ ।

पहिलो चरणमा २० मुरी आलु सङ्कलन गरेर पठाएको र माग अनुसार थप आलु पठाउने वडाध्यक्ष बस्नेतले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘गाउँपालिकाबाट काठमाण्डौ गएर बसेकाहरुबाट माग सङ्कलन गरेर आलु पठाएका छौँ, फेरी अर्को चरणमा पनि पठाउनेछौँ ।’

वडा कार्यालयले किसानबाट पाथीको एक सय रुपैयाँका दरले आलु खरिद गरेको छ । यस वर्ष गाउँमा आलु उत्पादन बढेको पनि वडाध्यक्ष बस्नेतले बताउनुभयो ।

प्रकाशित मिति:
थप समाज