भैरहवाबाट हङकङ उडान गर्दै नेपाल एअरलाइन्स

 असार १२, २०८० मंगलबार १३:२१:१ | रासस
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ । काठमाण्डाैबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एअरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो ।

विश्व प्रसिद्ध लुम्बिनीलाई हङकङसँग जोडेर त्यहाँबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले उडान विस्तार गर्न लागिएको निगमले जनाएको छ । निगमले भैरहवाबाट भारतको नयाँ दिल्लीमा पनि छिट्टै उडान सञ्चालनको योजना बनाएको छ । भैरहवाबाट हङकङ र नयाँदिल्लीमा उडान सञ्चालनको अन्तिम तयारी भइरहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो । ‘भैरहवाबाट हङकङ उडानको तयारी गरेका छौँ, एक/दुई दिनमै टुङ्गो लाग्छ । नयाँदिल्लीसहित अन्य सहरमा पनि उडान विस्तार गर्ने योजना छ’, उहाँले भन्नुभयो ।

प्रवक्ता पौडेलका अनुसार अबको १५ दिनभित्र ती दुवै गन्तव्यमा उडान गर्नेगरी टिकट बुकिङ खुला गरिनेछ । दुबई, दोहालगायत गन्तव्यमा पनि भैरहवाबाट उडान सञ्चालन गर्ने योजना छ ।

निगमले अहिले काठमाण्डाैबाट हङकङमा हप्तामा दुई उडान गर्दै आएको छ । त्यस्तै नयाँदिल्लीमा दैनिक दुई उडान भरिरहेको छ । दुवै गन्तव्यमा भैरहवाबाट कति उडान गर्ने भन्ने अहिले टुङ्गो लागिनसकेको प्रवक्ता पौडेलले बताउनुभयो ।

निगमले गएकाे जेठ २९ गतेदेखि भैरहवामा रहेकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्नुका साथै भैरहवा–मलेसिया र मलेसिया–भैरहवा–काठमाण्डाैमा उडान गरिरहेको हो ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तदारुकताका साथ गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान सुरु गर्ने निर्णय गरेको निगमले जनाएको छ ।

विसं २०७९ जेठ २ गतेदेखि व्यावसायिकरूपमा सञ्चालनमा आएको भैरहवा विमानस्थलमा कुवेतको जजिरा एअरले उडान गर्दै आएपछि पछिल्लो समय प्राविधिक कारण देखाउँदै उडान स्थगित गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सोमवार प्रतिनिधि सभाको बैठकमा पर्यटन मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रभावकारीरूपले सञ्चालनका लागि पहल भइरहेको जिकिर गर्नुभएको थियो । उहाँले गौतमबुद्ध विमानस्थलमा निगमले मलेसियाको क्वालालम्पुर–भैरहवा–काठमाण्डाै उडान सुरु गरिसकेको, जजिरा एअरले उडान गरिरहेकाेमा प्राविधिक कारण भर्खरै उडान स्थगित गरेको जानकारी दिनुभएको थियो ।

त्यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भर्खरैमात्र चीनको सिचुवानले एअरलाइन्सले छेन्दुबाट पोखरा चार्टर्ड उडान गरेको र यसले आउँदा दिनमा व्यावसायिक उडानको ढोका खुलेको पर्यटनमन्त्रीको भनाइ थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै छ महिनापछि भर्खरै सिचुवान एअरलाइन्सले चार्टर्ड उडान गरेको थियो । त्यसअघि पुस १७ गते विमानस्थल उद्घाटनका दिन हिमालय एअरलाइन्सले परीक्षण उडान गरेको थियो । यी दुवै अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारीरूपमा सञ्चालनमा आउन नसकेको भनी सदनमा समेत कुरा उठेको थियो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया