भोलिदेखि काठमाण्डौ उपत्यकामा २ हजार २८ शय्या निःशुल्क

 असार १३, २०८० बुधबार १६:१८:२५ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले भोलि बिहीवारदेखि काठमाण्डौ उपत्यकाका सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि दुई हजार २८ शय्या निःशुल्क गरिने बताउनुभएको छ ।

भोलिदेखि उपत्यकाका गङ्गालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले विपन्नका लागि निःशुल्क शय्या उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । ‘कान्तिबाल अस्पतालले ६० शय्या, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले चार सय ५० शय्या, ट्रमा सेन्टरले एक सय ५० शय्या र शहीद गङ्गालाल हृदयरोग केन्द्रले ९० शय्या निःशुल्क गर्ने निर्णय गरेका छन्’, मन्त्री बस्नेतले  भन्नुभयो । उहाँका अनुसार अहिलेसम्म विपन्नका लागि निःशुल्क घोषणा गरिएका शय्याको सङ्ख्या दुई हजार २८ पुगेको छ ।

‘वीर अस्पतालले सात सय शय्या र कोशी अस्पतालले तीन सय ३० शय्या निःशुल्क उपलब्ध गराउने यसअघि नै घोषणा गरिसकेका छन्’, मन्त्री बस्नेतले भन्नुभयो । उहाँले बिस्तारै देशभरिका केन्द्रीय अस्पतालमा विपन्नका लागि निःशुल्क शय्या थप्दै जाने र ती शय्यामा उपचार पनि निःशुल्क हुने जानकारी दिनुभयो ।

शय्या निःशुल्क गरेपछि अस्पतालमाथि पर्ने आर्थिक भार कम गर्नका लागि केही बजेट सम्बन्धित अस्पतालले व्यवस्थापन गर्ने र अपुग रकम स्वास्थ्य मन्त्रालयले बेहोर्ने गरी काम भइरहेको मन्त्री बस्नेतले बताउनुभयो ।

निजी अस्पताल पनि जिम्मेवार भई नियमअनुसार कुल शय्याको १० प्रतिशत विपन्नका लागि निःशुल्क छुट्याउनुपर्ने भन्दै मन्त्री बस्नेतले यो नियमलाई कडाइका साथ कार्यान्वयन गराइरहेको बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया