बाग्लुङका ७७ वटा खानेपानीकाे मुहानमा भेटियाे दिसामा पाइने ‘कोलीफर्म’

 असार २३, २०८० शनिबार १८:०:४८ | रासस
unn.prixa.net

बाग्लुङ - बाग्लुङका ७७ वटा मुहानको खानेपानीमा दिसामा पाइने जीवाणु ‘कोलीफर्म’ भेटिएकाे छ । जिल्लाका १० पालिकाबाट दुई सय १३ खानेपानी मुहानको नमुना सङ्कलन गरी पानी परीक्षण गर्दा ७७ मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको हाे । 

हालैमात्र निसीखोला गाउँपालिका–६ भल्कोटमा झाडापाखला र टाइफाइड रोग फैलिएपछि खानेपानीको मुहान परीक्षण गर्दा कोलीफर्म भेट्टिएको कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले एक महिनाअघि नसीखोला गाउँपालिका–६ मा वितरण गरिएको तीन वटा खानेपानीको मुहानको पानी परीक्षण गर्दा तिग्रापानीमा रहेको मुहानमा कोलीफर्म भेट्टिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन डिल्ली आचार्यले बताउनुभयो । उहाँका अनुसार निसीखोलामा मात्रै सात ठाउँका खानेपानी मुहानको नमुना परीक्षण गरिएको छ ।

चालु आर्थिक वर्षमा दुई सय १३ खानेपानी मुहानको नमुना सङ्कलन गरी परीक्षण गरिएकामध्ये ७७ खानेपानीको मूल तथा धारामा कोलीफर्मको मात्रा देखिएको आचार्यले बताउनु भयाे । 'निसीखोला–६ मा अधिकांश विद्यार्थीमा झाडापखला र टाइफाइड जस्ता सरुवा रोग देखिएको थियो, स्वास्थ्य चौकीबाट धेरै विद्यार्थी बिरामी भएको जानकारी आएपछि भलकोटका विद्यालयमा वितरण गरेको खानेपानी परीक्षण गर्दा कोलीफर्म भेटिएको थियो', उहाँले भन्नुभयो, 'स्वास्थ्य कार्यालयले अहिले विद्यालयमा वितरण गरिरहेको खानेपानीको मुहान र धारामा परीक्षण गर्ने गरेको छ । जिल्लामा चालु आर्थिक वर्षमा ७७ खानेपानीका मुहान र धारोमा कोलीफर्मको मात्रा देखिएको छ ।'

आचार्यका अनुसार बाग्लुङ बजारमा नगरखानेपानीले वितरण गर्दै आएको रेशखोला र भुदीखोलाको मुहान र धारो दुवैमा कोलीफर्म फेला परेको छ । यहाँका करिब ६० हजार नागरिकले पानी उपभोग गर्दै आएका छन् ।

जिल्लाका नागरिकले उपभोग गर्दै आएको खानेपानीको अवस्थाका विषयमा जिल्लामा रहेकाे स्वास्थ्य कार्यालयले बर्सेनि परीक्षण गर्दै आएको कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो । परीक्षणका क्रममा पानी तथा मुहान दूषित देखिए उपभोक्तालाई सचेत गराउँदै आएको उहाँले बताउनुभयो ।

कोलीफर्म देखिएका खानेपानीको मुहानमा सरसफाइ गरी किटनाशक औषधि प्रयोग गरेर मात्रै वितरण गरिने प्रमुख शर्माले बताउनुभयो । एकपटक गरिएको परीक्षण र सरसफाइले मात्रै समस्या समाधान नहुने भन्दै उहाँले खानेपानी उपभोक्ता समिति बढी जिम्मेवार हुन आवश्यक रहेको जनाउनुभयो ।

'कोलीफर्मका कारण झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत रोगको सङ्क्रमण हुने गर्दछ, जिल्लाको केही गाउँ र विद्यालयमा रोगको सङ्क्रमण चालु आर्थिक वर्षमा नै आइसक्यो', प्रमुख शर्माले भन्नुभयो, 'कोलीफर्म भएको पानीले मानवीय स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ, हिउँदका समयमा भन्दा बर्खायाममा कोलीफर्म बढी भेटिन्छ ।' उहाँका अनुसार वर्षाका कारण बगेर आएको पानीले जमिन तथा पानीको स्रोतमा रहेको फोहरलाई मिसाउँछ र पानी दूषित हुन्छ ।

झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत रोगको सङ्क्रमणबाट जोगिनका लागि पानीलाई शुद्धीकरण गर्नुपर्ने स्वास्थ्य कार्यालय प्रमुख शर्माको भनाइ छ । कोलीफर्मयुक्त पानी पिउँदा दिसाजन्य रोगले महामारीको रूप लिनसक्ने अवस्था आउनसक्ने भन्दै यसबाट जोगिनका लागि उपभोक्ता स्वयंले पानीको शुद्धीकरणमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । पानी राम्रोसँग उमालेर, फिल्टर गरेर वा अन्य पद्दतिद्वारा शुद्ध बनाएर पिउनुपर्ने स्वास्थ्यकर्मी बताउँछन् ।

कोलीफर्म फेला परेका खानेपानी मुहानका उपभोक्ता समितिलाई कोलीफर्म निमूल पार्न स्वास्थ्य कार्यालयले सचेत बनाइरहेको भन्दै मुहान सरसफाइ गराउन तथा पाइपलाइन मर्मत गर्न उपभोक्ता समितिलाई ताकेता गरिएको कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: कात्तिक २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया