नेभिगेशन
बिहीबार, कात्तिक २६, २०८३

भारतले आज धौलीगङ्गाको बाँध खोल्ने भएकाले महाकाली नदी आसपास बस्नेलाई सतर्कता अपनाउन आग्रह

काठमाण्डाै - भारतको धौलीगङ्गा जलविद्युत् परियोजनाकाे बाँधका ढोका आज खोलिँदैछ । बाँधका ढोका खोलिने भएकाले महाकाली नदी किनारमा बसोबास गर्नेहरुलाई आज बेलुकासम्म सतर्कता अपनाउन आग्रह गरिएको छ ।

भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाकाे बाँधका ढोका आज १५ घण्टाका लागि खोल्न लागिएको छ । यो परियोजनाकाे बाँधका ढोका खोल्दा महाकाली नदीमा बाढी आउँछ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना निकालेर महाकाली नदी किनारमा बसोबास गर्नेलाई सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न तथा नदी छेउछाउ नजान आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीका अनुसार धौलीगङ्गा जलविद्युत् परियोजनाकाे बाँधका ढोका अहिले बिहानदेखि आज राति ८ बजेसम्म खुल्नेछन् । यो अवधि र त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन तथा नदी वारपार नगर्न आग्रह गरिएको छ ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाइराख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो ।  भारतले सफाइको कामका लागि भन्दै परियोजना बाँधका ढोका खोल्न लागेको जानकारी पठाएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध बर्खाका बेला हरेक वर्ष खोल्ने गरेको छ । २०७० साल असार २ र ३ गते एक्कासी धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौँ रुपैयाँको क्षति भएको थियो ।

प्रकाशित मिति:
थप समाज