सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना : ६ जनाकै ज्यान गएको पुष्टि

 असार २६, २०८० मंगलबार १४:३८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

हेलिकप्टर दुर्घटना भएकाे क्षेत्र

काठमाण्डाै – सोलुखुम्बुमा हेलिकप्टर दुर्घटनामा पर्दा त्यसमा सवार छ जनाकै ज्यान गएको छ । हेलिकप्टरमा रहेका छ जना सबैको शव भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिनुभयो । पाँच जनाको शव र एक जनाको शरीरका टुक्रा भेटिएको उहाँले बताउनुभयो ।

सोलुखुम्बुबाट काठमाण्डौका लागि उडेको मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामोजुरा क्षेत्रमा दुर्घटनामा परेको हो । हेलिकप्टरमा एक जना पाइलट र पाँच जना यात्रु रहेका थिए । पाइलट नेपाली नागरिक हुन् भने यात्रु सबै मेक्सिकोका नागरिक रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । यात्रुमध्ये तीन जना महिला र दुई जना पुरुष थिए ।

दुर्घटनामा ज्यान गुमाउनेमा पाइलट चेतबहादुर गुरुङसहित मेक्सिकन यात्रुहरू सिफुएन्टेस जी फर्नाडो, रिङ्कोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक रहेका छन् ।

हेलिकप्टर रुखमा ठोकिएको देखिएको पनि सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो । बिहान १० बजेर ५ मिनेटमा सोलुखुम्बुबाट उडेको हेलिकप्टर १० बजेर १३ मिनेटपछि सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

खोजी तथा उद्धारका लागि नेपाली सेना, प्रहरी र काठमाण्डौबाट एल्टिट्युड एअरको हेलिकप्टर परिचालन गरिएको थियो । तर काठमाण्डौबाट गएका दुई वटा हेलिकप्टरले दुर्घटनास्थलमा अवतरण गर्न नसकेपछि २० मिनेटको पैदल दुरीमा अवतरण गरेका स्थानीयले बताएका छन् । स्थानीयले हेलिकप्टर खसेर आगो लागेको देखेपछि वडाध्यक्षलाई जानकारी गराएका थिए ।

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया