पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
कैलाली – विगतमा किसान जेठको अन्त्यदेखि साउनको पहिलो हप्तासम्म रोपाइँ गर्थे । एक महिनाभन्दा बढी दिन रोपाइँमा व्यस्त हुने किसानले आलोपालो (अर्मपर्म) प्रथामा रोपाइँ गर्थे । गाउँ समाजका धेरै परिवार मिलेर एकअर्काको खेतमा सघाउने चलन थियो । यसरी काम गर्दा छिटो काम सकिनुका साथै काम गर्दा सहज र रमाइलो हुन्थ्यो । असारमा खेतमा धान रोपाइँ गर्दा असारे गीत गाउने चलन आजभोलि हराउँदै गएको छ ।
‘रोपरोप रोपन्यारी, हातको बीउ छँदै
काइ नजायइ केही न खाएइ, यो मेरो जीउ छँदै’
‘सली बेल घर बाइगइ, रोपन्यारी पागाकी
मै पड्याकी सबै पड्यौ, दोहोरै सागाकी’
यस्ता गीतलाई देउडा भाकामा धान रोप्दै खेतमा महिलाले गाउने चलन थियो । आजभोलि खेतमा गीत गाउँदै रोपाइँ गर्ने चलन हराएको टीकापुरकी मोतिकला परियारले बताउनुभयो । ‘यस्ता भाका विगतमा गाउँघरमा हुने रोपाइँमा सुन्न पाइन्थे । आजभोलि खेतबारीमा काम गर्दा यस्ता गीत सुन्न निकै कम पाइन्छ’, उहाँले भन्नुभयो, ‘यस वर्ष गीत नगाएरै रोपाइँ सकियो । हामीले एक हप्ताअघि रोपाइँ सकेका हौँ ।’
हिजोआज पहिलाको जस्तो रोपाइँमा गीत गाउने, अर्मपर्म गर्ने चलन नभएको देख्दा पहिलाको रोपाइँ धेरै सम्झना आउने मोतिकलाले बताउनुभयो । उहाँले असारे गीत र भाका लोप हुँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । ‘असारे गीत धेरै लोप भएर गए । यी गीतसँग हाम्रो संस्कृति, परम्परा र चालचलन जोडिएको छ’, उहाँले भन्नुभयो, ‘रोपाइँका क्रममा खेतमा गीत सुन्दै, गाउँदै रमाइलो गरिन्थ्यो । कहिले घाम र पानीका बीच कडा श्रम गर्दा पनि गाउँदै, हिलो खेल्दै रोप्दा दिन बितेको पत्तै हुँदैनथ्यो ।’
कैलालीका कल्धरादेवी विकले आजभोलि विगतका जस्तो रोपाइँ रमाइलो नहुने बताउनुभयो । पहिले जेठानी, देउरानी, छिमेकी र साथीसङ्गी मिलेर रमाइलो गर्दै गरिने खेती आजभोलि नहुने उहाँको भनाइ थियो । ‘रोपाइँमा बाउसेले गाउने गीत अलग हुन्छन्, रोपाइँ गर्ने महिलाले गाउने गीत फरक हुन्छन्’, उहाँले भन्नुभयो, ‘बाउसे हुन्थे आजभोलि बाउसे अर्थात् खेतका आली बनाउने, खेतका कुनाकानी खन्ने पुरुषको काम छैन । हलो जोतेको देख्न मुस्किलले पाइन्छ । सबैतिर पावर टिलर तथा ट्र्याक्टरले खेत जोतेको देखिन्छ ।’
विगतमा गीत गाउँदै रोपाइँ गर्नेको अभ्यास आजभोलि फेरिएको स्थानीय राधा शर्माले बताउनुभयो । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढे्सँगै रोपाइँ गर्दा समेत टिकटक बनाइरहेका धेरै देखिने उहाँको भनाइ थियो । ‘अचेल रोपाइँ गर्ने तरिकासमेत बदलिँदै गएको छ । खेताला जम्मा भएर रापाइँ गर्ने चलन कम हुँदै मेशिनले खेत रोप्ने चलन बढिरहेको छ’, किसान शर्माले भन्नुभयो, ‘पहिला बिहान ४ बजेदेखि खेतमा पस्थ्यौँ, बाउसेले गाउने गीत फरक हुन्थे, महिलाले गाउने गीत फरक हुन्थ्ये । गीतमार्फत दोहोरी हुन्थ्यो । असारे गीतमा भएका संस्कृति हराउन थालेका छन् ।’
विगतमा रमाइलो गर्दै खेतमा श्रम गर्ने परम्परा आजभोलि असारे गीतसँगै लोप हुन थालेका स्थानीय बताउँछन् । कृषिमा नयाँ प्रविधि भित्रिएकाले जनश्रमको गर्नेको सङ्ख्या कम भए पनि रोपाइँ सहजै सकिने कैलालीकी रिता धामीले बताउनुभयो । उहाँका अनुसार खेती गर्न विभिन्न मेशिनरी सामानले समय बचत हुने गरेको छ भने रोपाइँ गर्दासामाजिक सञ्जालमा रमाइलो गर्नेहरू बढेका छन् ।
आजभोलि महिलाले टिकटक बनाउने, भिडियो बनाउनेजस्ता काम गरेर रमाइलो गर्ने गरेका धामीले बताउनुभयो । ‘हामीलाई देउडा गाउन आउँदैन, हामीले यस वर्ष रोपाइँ गर्दा टिकटक धेरै बनायौँ’, उहाँले भन्नुभयो, ‘टिकटक बनायौँ, विभिन्न खाले भिडियो बनाएर युट्युबमा राख्यौँ, त्यसमा पनि रमाइलो छ ।’
मानिसले समयअनुसार रमाइलो गर्न जान्नुपर्ने रिताको भनाइ थियो । उहाँसँगै साथीहरूले रोपाइँको एक महिना खेतमै काम गर्दै टिकटक बनाएर बिताउनुभयो । हामीले सबै कामलाई प्रविधिमा जोड्यौँ, रमाइलो गर्दै टिकटक बनायौँ, उहाँले भन्नुभयो, गीत गाउन जानेका छैनौँ, नाचेर रमाइलो गर्दै खेतमा काम गर्याैँ ।
संस्कृतिप्रेमी तुलसी देवकोटाले खेती गर्ने अभ्यासमा समाजका संस्कृति र परम्परासमेत जोडिएकाले नयाँ प्रविधिको प्रयोगसँगै पुराना संस्कृति र परम्पराकोसमेत संरक्षण गर्नु आवश्यक रहेको बताउनुभयो । ‘नयाँ प्रविधि भित्रनु नराम्रो होइन’, उहाँले भन्नुभयो, ‘हाम्रो संस्कृति र परम्परासँग जोडिएका कला, साहित्य र संस्कृति संरक्षण आवश्यक छ । टिकटक बनाउँदा पनि असारे देउडा गाएर बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।