गएकाे आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा २२ गैँडा मरे

 साउन २, २०८० मंगलबार ८:९:२१ | रासस
unn.prixa.net

फाइल तस्बिर

चितवन - चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गएकाे आर्थिक वर्षमा २२ वटा गैँडा मरेका छन् । दुई वटा चोरी सिकारी र २० वटा प्राकृतिक कारणबाट मरेका हुन् । 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गएकाे माघ ६ गते नवलपरासीको अमलटारी सेक्टरअन्तर्गत मध्यबिन्दु नगरपालिका–२ मा रहेकाे नारायणी किनारमा माउ र बच्चा गैँडा चोरी शिकारीले मारेका थिए । याे घटनाका अभियुक्त पक्राउ परेको उहाँले जानकारी दिनुभयो ।  

तिवारीका अनुसार आव २०७५/७६ मा प्राकृति कारणले ४३ गैँडा मरेका थिए । त्यसयताको वर्षमा प्राकृतिक कारणले मर्ने गैँडाको सङ्ख्या त्यसभन्दा कम हुँदै आएको छ । गएकाे वर्ष यो सङ्ख्या तुलनात्मकरूपमा घटेको हो । आव २०७६/७७ मा २६, २०७७/७८ मा ३९ र २०७८/७९ मा ३५ गैँडा प्राकृतिक कारणले मरेका छन् । यस आवमा २०७२/०७३ मा भन्दा बढी तर त्यसयताका अन्य वर्षको तुलनामा कम गैँडा मरेका हुन् । त्यस वर्ष १४ वटा गैँडा मरेका थिए ।

आव २०७३/०७४ मा २४ वटा गैँडा मरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार छ सय ९४ गैँडा छन् । विगतका वर्षमा चोरी शिकारबाट धेरै गैँडा मर्ने गरेको भए पनि पछिल्ला वर्षमा यो सङ्ख्यामा कमी आएको छ । आव २०७३/७४ मा एउटा, २०७७/७८ मा चार वटा र २०७८/७९ मा दुई वटा गैँडा चोरी शिकारीले मारेका थिए । सशस्त्र द्वन्द्वको समयमा एकै वर्ष चोरी शिकारीका कारण ३७ गैँडा मरेका थिए ।

प्राकृतिक कारणले मरेका गैँडा करेन्ट लागेर, चोटपटक लागेर, बूढो भएर, बाघको आक्रमणबाट, एकआपसमा जुधेर, मगर गोहीको आक्रमणबाट मरेका हुन् । तिवारीले निकुञ्जभित्रको घाँसे मैदान र पानीको व्यवस्थापनका कारण गैँडा बाहिर ननिस्किएपछि मरेका अनुमान गरिएको बताउनुभयो । 

प्राकृतिक कारणले गैँडा धेरै मरेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अध्ययनका लागि टोली गठन गरेको थियो । याे टोलीले अध्ययनसँगै सुझाव दिएपछि प्राकृतिक कारणबाट गैँडाको मृत्युदर घटाउन निकुञ्जले सक्दो प्रयास गरिरहेको तिवारीले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया