स्याङ्जामा प्याराग्लाइडिङ विश्वकपको तयारी अन्तिम चरणमा

 कात्तिक १२, २०७५ सोमबार १८:२७:५६ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – नेपालमै पहिलो पटक स्याङ्जामा हुन लागेको प्याराग्लाइडिङ विश्वकप २०१८ को तयारी अन्तिम चरणमा पुगेको छ ।

जिल्ला समन्वय समिति स्याङ्जा र स्याङ्जाका स्थानीय तहको मुख्य समन्वय तथा नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था र बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा नेपालमै पहिलो पटक प्याराग्लाइडिङ विश्वकप स्याङजामा हुने भएको हो ।

कार्तिक १५ देखि १८ गतेसम्म हुने एक्युरेसी प्याराग्लाइडिङमा स्याङ्जाको भीरकोट नगरपालिका –५, स्वरेक मैदानबाट उडेर वालिङ नगरपालिका ११ को डौंवा फाँटमा अवतरण गर्ने गरी तयारी भैरहेको छ । तोकिएको ठाउँबाट उडेर तोकिएको निश्चित घेराभित्र अवतरण गर्ने कार्यलाई एक्युरेसी भन्ने गरिन्छ । स्वर्ण, रजत र कास्य गरी ४० पदक र ४ वटा विश्वकप ट्रफीका लागि महिला एवं पुरुष खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन ।  

प्रतियोगिता सम्पन्न गर्नका लागि झण्डै डेढ करोड खर्च लाग्ने अनुमान गरेको समितिका संयोजक लक्ष्मण अधिकारले जानकारी दिनुभयो । हालसम्म प्रतियोगिताका लागि २० देशबाट आएका ९४ खेलाडीहरुले नाम दर्ता भएको प्रतियोगिताका सचिवालय संयोजक अनन्त श्रेष्ठले जानकारी दिनुभयो । दर्ताको समय अझै रहेकाले अन्तिम मितिसम्ममा २५ देखि ३० देशका झण्डै डेढ सय खेलाडीहरुले प्रतियोगिताका लागि नाम दर्ता गर्ने अनुमान गरिएको श्रेष्ठले बताउनुभयो ।

प्रतियोगितामा सहभागी हुनका लागि आवेदन दिएका सबैले प्रतिस्पर्धा गर्न पाउने छैनन् । प्रतिस्पर्धीलाई छनौट गरेर मात्रै प्रतियोगितामा सहभागी गराइने बाबु एड्भेन्जर क्लबका सानुबाबु सुनुवारले जानकारी दिनुभयो । प्रतियोगिता हुने क्षेत्रमा हवाई मार्ग नपर्नु अर्को राम्रो पक्ष भएको बताउँदै सुनुवारले विश्वकप हुने स्थानको मौसम एघार महिना राम्रोसँग उड्न सकिने खालको हावाको बहाव रहेको जानकारी दिनुभयो । 

प्रतियोगितामा नेपालसहित फ्रान्स, जापान, कोरिया, ब्रिटेन, क्यानडा, साउदी अरेबिया, सिंगापुर, इन्डोनेसिया, टर्की, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान, इजिप्ट, इरानलगायत झण्डै ३० देशका खेलाडीहरुबीच सामूहिक र व्यक्तिगत प्रतिस्पर्धा गर्ने प्रतियोगिता आयोजक समितिले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया