रारा– सिंजा मोटरबाटो स्तर वृद्धिमा ढिलाई, दुर्घटना बढ्दै

 कात्तिक १४, २०७५ बुधबार ८:२४:२२ | नेत्र शाही
unn.prixa.net

जुम्ला – गएको कार्तिक ७ गते राराताल भ्रमण गरेर फर्किएको ग १ य १०९७ को पर्यटक बोकेको बलेरो जीप नाग्म–गमगढी राजमार्गको गोठीज्यूला गोरुचौरमा पल्टिँदा ७ जना पर्यटक घाइते भए । 

त्यही दिन भे १ ज ८६५ नम्बरको जीप नाग्म–गमगढी राजमार्गको हिमा गाउँपालिका बड्की पागरपालि भन्ने ठाउँमा राजमार्गबाट खस्दा एकै परवारका ३ जनाको ज्यान गयो । चार जना गम्भीर घाइते भए । 
 
बहुप्रतिष्ठित सभ्यताको मुहान सिंजा क्षेत्र र नेपालकै सबैभन्दा ठूलो ताल राराताल सिंजा भएर जाने सडक (नाग्म–गमगढी राजमार्ग) जीर्ण भएकोले यात्रुहरुलाई निकै सास्ती भोग्नु परेको छ । 

दैनिक सयाैं पर्यटकका गाडी गुड्ने यस क्षेत्रमा धुलो, हिलो र खाल्डा–खुल्डी बढी भएकाले नाग्मदेखि गमगडिसम्मको ९३ किलोमिटर बाटोमा यात्रुले सास्ती भोग्ने गरेका छन् ।

दसैंपछि मात्रै २० हजारभन्दा बढी पर्यटकले रारा अवलोकन गरिसकेका होटल व्यवासायीहरुको अनुमान छ । 

आवत–जावत गर्न असहज भएपछि पछिल्लो समयमा बाटोको गुणस्तर बनाउनुपर्ने विषयमा चौतर्फी चासो बढेको हो ।  कच्ची बाटो व्यवस्थापन नभएका कारण पटक यात्रुहरुले दुःख पाउँदै आएको छन् । 

यसका साथै त्यस क्षेत्रमा दुर्घटनासमेत बढ्न थालेका छन् । कच्ची बाटो हिलो, धुलो र ठूला खाल्डा–खुल्डीका कारण यातायातमा असहज हुने गरेको छ । 

जुम्लाका प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महत र जुम्ला प्रदेश (ख) का सांसद पदम रोकाया, नेकपाका नेता पूर्णप्रसाद धितालले स्थलगत अवलोकन गरेर नाग्म–गमगढी सडक सुधार  गर्न सरोकारवाला निकायसँग छलफल गरी निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । 

सांसद महत र रोकायाले बाटो निर्माण कार्य गुणस्तरीय नभएकोले अब पनि यस्तो समस्या नदोहोर्‍याउन जिम्मेवार कम्पनीलाई निर्देशन दिएका हुन् । 

प्रदेश सांसद पदम रोकायाले नाग्म–गमगढी राजमार्गमा पटक पटक प्रभावकारी काम नभएको भन्दै निर्माण कार्यमा भएको लापरवाहीका विषयमा कडा रुपमा लाग्ने बताउनुभयो । 

सांसदहरुले पर्यटन वर्षलाईसमेत लक्षित गरेर यो सडक सुधार गर्न आग्रह गरेका छन् । यसैगरी सबै मापदण्ड पूरा गरेर काम गर्न सडक डिभिजन जुम्लाले असोज २१ गते निर्माण कम्पनीलाई पत्राचारसमेत गरेको छ । 

सडकको अवस्थाको बारेमा प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलसहितको टोलीले अनुगमन गरेपछि पत्रचार गरिएको हो । यसैगरी निर्माण कार्यमा गुणस्तरहिन र समयमा नबनाउनेलाई कारवाही गर्ने क्रममा प्रशासन प्रतिबद्ध रहेको सहायक प्रमख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो । 

पछिल्ला केही समयमा यो सडक खण्डमा दुर्घटना बढिरहेका छन् । अर्कोतिर अप्ठ्यारो बाटो भएका कारण सार्वजनिक गाडी गुड्न नै मान्दैनन् । गुडे पनि चाडपर्वको समयमा मनपरी भाडा लिने गरेका कारण स्थानीयले हैरानी व्यहोर्नु परेको स्थानीयहरु बताउँछन् ।  

कर्णाली प्रदेश सरकारले वि.सं २०७५ लाई कर्णाली पर्यटन वर्षको रुपमा मनाउने घोषणा गरे पनि पूर्वाधार तयार गर्न सरकारले खासै चासो दिएको छैन । सरकारले कर्णाली राजमार्गको दैलेख र कालिकोट खण्डका विभिन्न स्थानका पुल निर्माण गर्न पनि आवश्यक छ ।

यसैगरी राराताललाई लक्षित गरी आउने यात्रुलाई सजिलो र फेरि फर्कने वातावरणका लागि सडक, होटल र सुरक्षाको व्यवस्थापन गर्न आवश्यक रहेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया