केरामा लाग्ने पानामा रोगको नयाँ प्रजाति नेपालमा पहिलो पटक भेटियो

 भदौ ४, २०८० सोमबार १८:५४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – केरामा लाग्ने पानामा रोगको नयाँ प्रजाति टी आर–४ नेपालमा पहिलो पटक भेटिएको छ।

पानामा रोग केरामा लाग्ने प्रमुख रोग हो । पानामा ढुसीका ४ प्रजातिमध्ये केराका लागि खतरनाक मानिएको टी आर ४ कैलालीको टिकापुरका व्यावसायिक केरा बगैँचामा भेटिएको पुष्टि भएको छ ।

कृषि वैज्ञानिकको एक टोलीले एक महिना लगाएर टिकापुरका नौ जना किसानको बगैँचामा आठ हजार बोटमा अवलोकन गरेको र नमुना हङकङ पठाएको थियो ।

नमुनाबाट टी आर ४ नामक हानिकारक ढुसी प्रजाति केरामा लागेको पुष्टि भएको नार्कका बाली रोग वैज्ञानिक डा रामबहादुर खड्काले जानकारी दिनुभयो ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायले अन्वेषण गरी यस्तो तथ्य पत्ता लागेको वैज्ञानिक डा खड्काले बताउनुभयो ।

नेपालको रैथाने केरा मालभोग रहेपनि अहिले व्यावसायिक रुपमा भइरहेको केरा खेतीको ७०–८० प्रतिशत हिस्सा ‘जी नाइन’ जातको केरा छ ।

वैज्ञानिकहरुले विश्वमा व्यावसायिक केरा खेतीका लागि विकास गरेको ‘जी–नाइन’ जातको केरामा पहिलो पटक १९९६ मा इन्डोनोसियामा यो रोग पुष्टि भएको थियो ।

भारतमा सन् २०१५ मा यो रोग देखिए पनि नेपालमा पहिलो पटक पुष्टि भएको डा खड्काले बताउनुभयो ।

नार्कका वैज्ञानिकहरुका अनुसार नेपालमा अहिले व्यावसायिक रुपमा ‘जी–नाइन’ जातको केरा खेती भइरहेको छ ।

यो प्रजातिमा नयाँ रोग लागे केराको पुराना पातको फेद कुहिने र धेरै फैलिएपछि बोट ढल्ने हुन्छ ।

यो रोग गानो र माटो तथा संक्रमित क्षेत्रबाट अर्को ठाउँमा हुने ओसार पसारबाट फैलने विज्ञले बताएका छन् ।

अहिल्यै रोग नियन्त्रण गर्न नसके नेपालमा व्यावसायिक केरा खेती मासिने जोखिम रहेको डा खड्काले बताउनुभयो ।

रोग पुष्टि भएपछि नार्कमा आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिईएको छ ।

तत्काल रोग देखिएको ठाउँ सिल गरेर निर्मलीकरण गर्न र त्यहाँबाट हुने ओसार पार तथा मानवीय गतिविधि रोक्न, किसानलाई आवश्यक जानकारी दिन पनि अनुरोध गरिएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया