अघिल्लो सरकारका कारण चुनावी घोषणापत्र अनुसार बजेट आएन : प्रधानमन्त्री ओली

 जेठ २६, २०७५ शनिबार ११:३०:७ | सुमन तिमल्सिना

मोरङ – प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सरकारले ल्याएको बजेटमा प्रदेशले असन्तुष्टि पोख्न आवश्यक नरहेको बताउनुभएको छ  ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नयाँ प्रणाली भएको कारण सबैपक्षबाट उपयुक्त ढंगले सुगठन र परिचालनमा समय लाग्ने बताउनुभयो । तुरुन्तै व्यवस्थित भईहाल्ने अवस्था नभएकोले त्यसलाई व्यवस्थापन गर्दै लगिने उहाँको भनार्इ  थियो ।

चुनावी घोषणा पत्र अनुसार बजेट ल्याउन नसकेको विषयमा ओलीले अघिल्लो सरकारलाई दोष थोपर्नुभयो  । अघिल्लो सरकार बिना योजना ७ सय ५० अर्ब बाँडेकोले त्यो तिनुपर्ने दायित्व अहिलेको सरकारको रहेको उहाँको आरोप थियो । 

‘साढे  ७ खर्ब अघिल्लो सरकारले मनपरी बाँडेको अवस्था छ, यो राजश्वको ठूलो प्रतिशत हामीले दायित्व लिनु पर्ने छ’, ओलीले भन्नुभयो, ‘अहिले अर्थतन्त्रको हिसाबले घुँडा टेकेको छ, त्यसलाई ट्याकमा ल्याउनु छ । ’

योजनामा नै नभएका ठेक्का पट्टाहरु लागेकोले ७ खर्ब ५० अर्ब भनेको ठूलो रकम भएकालेले यो दायित्व पूरा गर्नुपर्ने सरकारको दायित्व रहेको ओलीले बताउनुभयो ।अघिल्लो सरकारको मनपरी निर्णयको कारण अहिले सामाजिक सुरक्षाको पक्षलाई धेरै बढाउन सक्ने अवस्था  नरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘सामाजिक सुरक्षाको सवालमा गम्भीरताको साथ सोचिएको छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तत्काललाई नभए पनि अरु ढंगले बीमा, स्वास्थ्य सुविधाको पक्षहरुमा ध्यान दिएका छौ ।’

आगामी दिनमा भताभुङग पारिएका क्षेत्रहरुलाई ट्याकमा ल्याएपछि थप विषयहरु नागरिकको सामाजिक सुरक्षासँग जोडिएर आउने ओलीले बताउनुभयो । श्रोतको सुनिश्चितता भन्दै उधारो र धरौटी बिनाको जमानी गर्दै ठेक्का पट्टा कार्यक्रम स्वीकृत गरेर अघिल्लो सरकारले अर्थतन्त्र भाताभुंग पारेको ओलीको आरोप छ ।

ओलीले समस्या भएपनि देशबाट गरिबी हटाउने प्रतिबद्धता जनाउनुभएको छ  । ‘यो गरिब बस्ने देश हैन, यहाँ धनी बस्ने र धनी हुने देशको सम्भावना छ’, ओलीले भन्नुभयो, ‘यहाँ र त्यहाँ पुगेन भन्ने कुरा केही समयसम्म मात्र रहन्छ ।’ 

संघीय समाजवादी फोरमलाई सरकारमा ल्याइएको विषयमा ओलीले भन्नुभयो, ‘अब विपक्षी दललाई पनि सरकारमा ल्याउन बेर छैन ।’ प्रदेशहरुमा पनि संघीय समाजवादीसँग मिलेर सरकार बनाउने विषय सम्भावनाको रहेको उहाँो भनाई थियो । ‘जहाँ–जहाँ जसरी छन्, त्यसकै आधारमा देश बनाउने मनसायका बीच अघि बढेको छौ’, ओलीले भन्नुभयो ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया