नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - सुनसरीको धरानमा अवस्था सामान्य रहेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार अहिलेसम्म धरानको अवस्था सामान्य छ ।
स्थानीय प्रशासनले सम्भावित घटनालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । धर्ना, जुलुस, भेला गर्न नपाउने गरी धरान उपमहानगरपालिकाको सबै क्षेत्रमा लागू हुने गरी गएराति १२ बजेदेखि भरे राति १२ बजेसम्मको लागि निषेधाज्ञा लागू गरिएको छ ।
निषेधाज्ञासहित धरान प्रवेशमा कडाइ गरिएको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीको आदेशमा धरानमा फैलिएको डेङ्गी सङ्क्रमण नियन्त्रणमा नआउञ्जेल स्वास्थ्य आपतकाल अवस्था क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा यसअघि नै सिफारिस गरेको र धरानमा आज धार्मिक–साम्प्रदायिक सङ्कटको अवस्था समेत देखिएकाले शान्ति सुरक्षालाई ख्याल गरेर निषेधाज्ञा जारी गरेको उल्लेख छ ।
प्रहरीले धरान प्रवेश गर्ने नाकामासमेत कडाइ गरेको छ । धरानमा सामाजिक आस्था र भावनामा ठेस पुर्याउने गतिविधि हुन नदिन सबै पक्षले पहल गरेका छन् । विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था र नागरिक अगुवाहरुले धार्मिक र सामाजिक सद्भाव कायम राख्नका लागि पहल गरेका हुन् ।
धरानमा कृयाशील १३ वटा राजनीतिक दलले साझा विज्ञप्ति निकालेर सामाजिक सद्भाव बिथोल्ने कुनै पनि कार्यक्रम नगर्न सबैसँग अनुरोध गरेका छन् । उनीहरुले सामाजिक सञ्जालबाट पनि सामाजिक सद्भाव खलबलिने कुनै सामग्री शेयर नगर्न आग्रह गरेका छन् ।
दलहरुले संयुक्त विज्ञप्तिमा सबै जाति, धर्म, समुदायले एक आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्दै सामाजिक द्वैष तथा आस्थामा ठेस पुर्याउन गतिविधि नगर्न अनुरोध गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, विवेकशील साझा पार्टी लगायत दलका नेताहरुले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
यस्तै, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले सामाजिक र धार्मिक सद्भाव राख्न सबैसँग अपिल गर्नुभएको छ । पछिल्लो केही दिनदेखि धरानमा सामाजिक अन्तरसम्बन्ध खलबल हुने खालका गतिविधि भइरहेको भन्दै उहाँले विरोध, प्रतिशोध र नकारात्मकतालाई त्यागेर शान्त बन्न आग्रह गर्नुभएको हो । सबैजना संयमित र संवेदनशील भएर सबै समुदाय र हरेक नागरिकको भावना प्रतिविम्बित हुनेगरी आपसी सद्भाव, भाइचारा र एकता कायम गर्न मेयर राईले धरानवासीलाई अपिल गर्नुभएको हो ।
प्रदेश एक पुन: नामाङ्कन संघर्ष समितिले पनि सामाजिक सद्भाव कायम गर्न आग्रह गरेको छ । प्रदेशको नाम पुन: नामाङ्कनको लागि गठन भएका पाँच वटा सङ्घर्ष समितिका प्रमुखहरुले संयुक्त विज्ञप्ति निकालेर बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय सद्भाव कायम गर्न आग्रह गरेका हुन् ।
धरानका पाँच जना पूर्व मेयरहरुले पनि संयुक्त विज्ञप्ति निकालेर सबैलाई संयम बन्न र सामाजिक एकता कायम राख्न आग्रह गरेका छन् । विभिन्न सङ्घसंस्था र नागरिक समाजले पनि सामाजिक सद्भाव र एकताको लागि पहल गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।