बाल सुधार गृह भक्तपुरको घटना लापर्बाही र उदासीनताका कारण : इन्सेक

 भदौ १५, २०८० शुक्रबार १७:४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भक्तपुरको बाल सुधार गृहमा एक जनाको ज्यान गएको र बालबालिका सुधार गृहबाट बाहिरिएको घटना बाल सुधार गृहको सञ्चालन गर्ने संस्था युसेपको लापर्बाही र प्रशासनको उदासीनताका कारण भएको इन्सेकले जनाएको छ ।

इन्सेकको नेतृत्वमा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि सम्मिलित स्थलगत अध्ययन टोलीले आज शुक्रवार जारी गरेको प्रतिवेदनमा याे कुरा औँल्याइएको हो ।

सुधार गृह प्रशासनको बेवास्ताका कारण समयमै उपचार नपाउँदा १८ वर्षीय कमल बस्नेतको ज्यान गएकाे अध्ययन टोलीले निष्कर्ष निकालेको छ । ‘होस्टल वार्डेनसँग औषधि मागेको र वार्डेनले निको नामको औषधि दिएर पठाएको र भदौ ३ गते बिहान ६ बजेतिर बालक अचेत अवस्थामा फेला परेपछि तुरुन्तै मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरकाे नागरिक सामुदायिक अस्पतालमा लगिएको बालबालिकाले बताए’, प्रतिवेदनमा उल्लेख छ ।

बलात्कार मुद्दामा बाल सुधार गृहमा थुनामा रहेका मन्थली नगरपालिका–३ कठजोरका १८ वर्षीय कमल बस्नेतको भदौ ३ गते बिहान ६ बजेतिर सुधार गृहमा ज्यान गयो । ज्वरो र पिलोका कारण बिरामी भएका बस्नेतलाई समयमा नै उपयुक्त उपचारका लागि अस्पताल नलगिएका कारण ज्यान गएको पाइयो । सुधार गृह प्रशासनको लापर्बाहीका कारण बालकको ज्यान गएको भन्दै भदौ ३ गते नै घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र पीडित पक्षलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै सुधार गृहमा रहेका बालकहरूले सुधार गृहभित्र र मृतकका आफन्तले सुधार गृह परिसरमा नाराबाजी गरेका थिए । त्यही क्रममा प्रहरीसँगको झडपपछि सुधार गृहभित्र रहेका दुई सय २१ जना बालबालिका सुधार गृहको पछाडिको ढोका फोडेर बाहिर निस्किएका थिए ।

कारागार व्यवस्थापन विभाग मातहत रहेको र न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप) नेपालको व्यवस्थापनमा मध्यपुर थिमी नगरपालिका–२ सानोठिमीमा सञ्चालित बाल सुधार गृहमा जिल्ला अदालत रामेछापको २०७७ जेठ २९ गतेको आदेशमा बस्नेत थुनामा रहेका थिए । बाल सुधार गृह प्रसाशनले भदौ ३ गते ६ बजे बालकलाई मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरमा रहेको नागरिक सामुदायिक अस्पतालमा उपचारका लागि लगेकाेमा अस्पतालमा ल्याई पुर्‍याउनुअघि नै बालककाे ज्यान गइसकेको अस्पताल प्रशासनले अनुगमन टोलीलाई जानकारी दियो ।

‘बाल सुधार गृहका सम्बन्धमा दीर्घकालीन रूपमा बाल सुधार गृह व्यवस्थापनमा संलग्नहरूलाई अनुसन्धानको प्रक्रियामा ल्याउन, सुधार गृहभित्रको अन्तरिक व्यवस्थापनमा सुधार गर्न, भदौ ३ र ४ गतेको घटनाको निष्पक्ष र वस्तुनिष्ठ छानबिन गर्न, सुधार गृहमा क्षमताभन्दा बढी बालबालिका नराख्ने व्यवस्था गर्न र १८ वर्षभन्दा बढी उमेर पुगेकाहरूलाई सुधार गृहमा बालबालिकासँग नराख्ने व्यवस्था गर्नु जरुरी देखिएको छ । बाल सुधार गृहको सञ्चालनको जिम्मा सरकारले नै लिनुपर्ने र सुधार गृहलाई सुधार गृहकै रूपमा विकास गर्नु आवश्यक छ । बाल सुधार गृहभित्र कारागारकै जस्तो भित्री सत्ताको अन्त्य गर्ने र बालमैत्री व्यवस्थापनमा जोड दिनु आवश्यक छ’, प्रतिवेदनमा उल्लेख छ ।

सुधार गृहभित्र रहेका बालबालिकाको स्वास्थ्य परीक्षणको व्यवस्था नगरेको, मानसिक स्वास्थ्यमा हेरचाह नगरेको, खानपिन, खानेपानीको प्रबन्ध नगरेको र वृत्ति विकासका लागि कुनै पहल नगरेको जनाउँदै भदौ ४ गते सुधार गृहका बालबालिका आन्दोलित भएका थिए । त्यही क्रममा सुधार गृह प्रशासनले कुनै सुनुवाइ नगरेपछि बालकहरूले सुधार गृहमा तोडफोड गरेका थिए ।

त्यस क्रममा भएको झडपमा परेर नेपाल प्रहरीतर्फ ११ जना र सशस्त्र प्रहरीतर्फ आठ जना गरी १९ जना र १० जना बालकसमेत घाइते भए । घाइते बालकमध्ये रबरको गोली लागेका (घाइतेका आफन्तको भनाइअनुसार) एक जनाको अवस्था गम्भीर रहेको छ । उनको उपचार राष्ट्रिय ट्रमा सेन्टरको आईसीयूमा भइरहेको छ । घटनापछि बाहिर निस्केका दुई सय २१ जना बालकमध्ये अझै चार जना सम्पर्कमा नआएका प्रहरीले जनायो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया