कोशीका मुख्यमन्त्री थापा पदमुक्त, हिक्मत कार्कीलाई ४८ घण्टाभित्र नियुक्त गर्न परमादेश

 भदौ २१, २०८० बिहिबार १९:११:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त हुने परमादेश जारी गरेको छ । सर्वोच्चको पूर्ण इजलासले थापालाई पदमुक्त गरेर सबैभन्दा ठूलो दलको हिसाबले नेकपा एमालेका हिक्मत कार्कीलाई ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न पनि परमादेश दिएको छ ।

आज बिहीवार न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको हो ।

यसअघि पनि सभामुख बाबुराम गौतमको मतसहित विश्वासको मत लिएका थापालाई सर्वोच्चले नै पदमुक्त गरेको थियो । दोस्रो पटक मुख्यमन्त्री बनेका थापाले यही भदौको ४ गते सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले समेत मत दिएपछि विश्वासको मत पाउनुभएको थियो । तर सभाध्यक्षकै मतको प्रयोग गरेर विश्वासको मत लिनु संविधान र कानुन विपरीत भएको भन्दै भन्दै एमालेका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दिनुभएको थियो ।

आज विश्वासको मत बदर गर्दै सर्वोच्चको पूर्ण इजलासले मुख्यमन्त्री थापालाई पदमुक्त गरेर हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन भनेको छ । कोशी प्रदेशमा बहुमतका लागि ४७ जना चाहिनेमा सत्ता गठबन्धन र एमालेको गठबन्धन दुवैसँग बहुमत नहुँदा खिचातानी भइरहेको छ । सत्तापक्षले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याउने बाटो समातेको थियो तर एमाले र राप्रपाले उपसभामुख र ज्येष्ठ सदस्यहरूलाई बैठकमा अनुपस्थित गराएर सत्तापक्षकै सांसदलाई सभाध्यक्ष बनाउनैपर्ने बाध्यता सिर्जना गरेका थिए ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • महेन्द्र बि क

    Sept. 7, 2023, 9:55 p.m.

    कठै बरा! मेरो देश, हैन नेताको मुद्दामा कसरी सजिलै फैसला सुनाइन्छ? बिचरा सन्दिप लामिछानेलाई किन यति धेरै सताएको? कि त उसलाई राष्ट्रीय क्रिकेट टीमबाटै हटाउनूहोस् कि त उसलाई स्वतंत्रतापुर्वक खेल्न दिनुहोस् किन यसरी मानसिक तनाव दिदै हुनुहुन्छ 😭😭😭 राष्ट्रको एउटा खम्बालाइ मानसिक तनाव दिएर एसिया कप जित्न को शुभकामना दिन लाज लाग्दैन न र? प्रधानमंत्री, ज्यु! 🤣🤣

  •  0 Reply

तपाईको प्रतिक्रिया