चेपाङ समुदायले छोनाम पर्व मनाउँदै

 भदौ २२, २०८० शुक्रबार ११:१५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - आज चेपाङ समुदायले छोनाम अर्थात् न्वागी पर्व मनाउँदै छन् । छोनाम पर्व चेपाङ समुदायको प्रमुख धार्मिक पर्व हो ।

छोनाम पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ । चेपाङ समुदायमा पितृलाई नचढाइ र पूजा नगरि नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । छोनाम पर्वका दिन आज घैया धानको चामल, पिँडालु, निबुवा, घिरौलालगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खाने दिन पनि हो ।

वर्ष दिनमा कम्तीमा नौ महिना जङ्गली कन्दमूल र सिस्नो खाएर बस्ने चेपाङ जातिले आज मिठोमसिनो खाएर मुख फेर्ने गर्छन् भन्ने भनाइ पनि रहिआएको छ । चेपाङ जातिले पाखापखेरामा लगाएका मकैलगायत फलफूल भदौमा पाक्ने भएकाले छोनाम पर्व यही महिना मनाउने गरिएको इतिहास छ ।

छोनाम पर्वका दिन चेपाङहरुले कुनै पनि काम नगरि रमाइलो गर्नेगर्छन् । नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । छोनाम पर्व चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको मानिन्छ । यस पर्वलाई चेपाङ समुदायले आफ्नो मौलिक भाषामा छोनाम भन्छन् भने खस नेपाली भाषामा न्वागी भनिन्छ । नेपालमा ८४ हजार तीन सय ६४ जना चेपाङ छन् ।

सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजारको हाराहारीमा चेपाङ समुदायका मानिस बसोबास गर्छन् । चेपाङ राप्ती नदी उत्तर, त्रिशूलीपूर्व उठेको महाभारत पर्वत शृङ्खला वरिपरिको रैथाने बासिन्दा मानिन्छन् । मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङ समुदायको बसोबास छ ।

चेपाङको राष्ट्रिय पर्व छोनामका अवसरमा बाग्मती प्रदेश सरकारले आज चितवन, मकवानपुर र धादिङमा सार्वजनिक बिदा दिएको छ ।

तस्बिर : शिवप्रसाद तिमिल्सिनाकाे फेसबुक

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया