नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
गाेरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले विद्युतीय गुनासो पेटिकाको शुरुवात गरेको छ । २० औँ निजामती सेवा दिवसको अवसर पारेर आज शुक्रवारदेखि विद्युतीय गुनासो पेटिकाको शुरुवात गरेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताउनुभयो । गुनासाे पेटिकाकाे शुरुवातले सूचना प्रविधिको विकाससँगै 'ई–गभर्नेन्स' को माध्यमबाट सार्वजनिक सेवा प्रवाहलाई जनमैत्री, उत्तरदायी, चुस्त र पारदर्शी बनाउन सहयोग पुग्ने उहाँको विश्वास छ ।
जिल्ला प्रशासन कार्यालयले वेबसाइट, इमेल, फेसबुक, ट्विटर जस्ता विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत यसअघि नै सेवाग्राहीको सुझाव र गुनासाबारे जानकारी लिँदै आएको थियो । यसका साथै विद्युतीय गुनासो पेटिकाले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन, सेवाग्राही तथा सरोकारवालाहरूलाई आफ्ना उजुरी तथा गुनासो राख्न सहज हुने प्रशासन कार्यालयको विश्वास छ ।
गुनासो पेटिकामा जिल्ला प्रशासन कार्यालयसहित जिल्लाका अन्य सरकारी तथा अर्धसरकारी निकायहरूबाट प्रदान हुने सेवा, विकास निर्माण, सार्वजनिक सम्पत्तिको अतिक्रमण वा सुशासनको सन्दर्भमा गुनासो, उजुरी तथा सकारात्मक सुझावहरू राख्न सकिने प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिनुभयो । क्यूआर कोड स्क्यान गरेपछि प्राप्त हुने गुगल फर्ममा गुनासो तथा सुझाव लेखेर पठाउन सकिने गरी विद्युतीय गुनासो पेटिकाको व्यवस्था गरिएको हो ।
कार्यालयको वेबसाइट तथा फेसबुक पेजमा सार्वजनिक गरिएको क्यूआर कोड स्क्यान गरी उजुरी वा गुनासो व्यक्त गर्न सकिने छ । याे पेटिका सहितका सामाजिक सञ्जाल र टेलिफोनबाट प्राप्त हुने गुनासोको दैनिक रुपमा सम्बोधन गरिने प्रमुख जिल्ला अधिकारी भुसालको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।