नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
खोटाङ - खोटाङमा धान बालीमा रोग तथा किराको सङ्क्रमण फैलिएको छ ।
रावाबेँसी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, साकेला गाउँपालिका र खोटेहाङ गाउँपालिकाका विभिन्न ठाउँमा लगाइएको धान बालीमा रोग तथा किराको सङ्क्रमण फैलिएको हो ।
गाभा सरेर पोटाउने अवस्थामा धान बालीमा गभारो नामको किरा तथा राइस ब्लाष्ट–थ्री, सेथ ब्लाइट–टु र ब्याक्टेरियल फुट रट रोगको सङ्क्रमण देखा परेको कृषि ज्ञानकेन्द्र खोटाङका बाली संरक्षण अधिकृत रामनन्द यादवले बताउनुभयो ।
जिल्लाका १० पालिकामध्ये रावाबेँसी गाउँपालिकाका किसानले लगाएको धान बालीमा सबैभन्दा बढी रोग तथा किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 'खोटाङमा धानबालीमा धेरथोर तीन किसिमको रोग र एउटा किराको सङ्क्रमण फैलिएको पाइएको छ,' बाली संरक्षण अधिकृत यादवले भन्नुभयो, 'रोग तथा किराको सङ्क्रमण सबैभन्दा बढी रावाबेँसी गाउँपालिकामा देखा परेको छ ।'
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल, खाल्ले र नेर्पामा लगाइएको धान बालीमा रोग तथा किराको सङ्क्रमण देखा परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गभारो, ब्लाष्ट, खैरो थोप्ले रोग र ब्याक्टेरियल लिफ ब्लाइटको सङ्क्रमण देखिएको प्राविधिक सहायक मिनबहादुर बुढाथोकीले बताउनुभयो । धान बालीमा लागेको रोग तथा किरा नियन्त्रणका लागि नगरपालिकाले किसानलाई कारटाप हाइड्रोक्लोराइड, कार्बेनडाजिम र एक्जाकोनाजोल नाम विषादि वितरण शुरु गरेको छ ।
सङ्क्रमण भएको कसरी चिन्ने ?
धानको कलिलो अवस्थामा गभारोको आक्रमण भएमा मृत गावा देखिन्छ । फूल फूल्ने अवस्थामा आक्रमण भएमा भुस मात्र भएको सेतो बाला देखिने कृषि प्राविधिक बताउँछन् ।
धानमा ब्लाष्ट नामक रोग लागेपछि पातमा स–साना सेतो टीका बीचमा भएका लाम्चिला खैरो थोप्ला देखापर्छ । बालादेखि तलको डाँठको वरिपरि वा आँख्लामा खैरो रङ भएको दाग पनि देखिन्छ । थोप्ला जोडिँदै जाँदा पूरै पात डढेको देखिन्छ ।
यस्तै, खैरो थोप्ने रोग लागेको धानको पात वा गेडामा स–साना गोलाकार वा लाम्चिला खैरो थोप्लाहरु देखिन्छ । ब्याक्टेरियल लिफ ब्लाइट लागे पातको किनाराबाट लामो पहेँला वा खैरा रङका धर्साहरु देखिन्छन् र पात टुप्पोबाट सुकेर मर्छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।