देशबाहिर रहेका लाखौँ युवाको भविष्य खोज्दैछु : प्रधानमन्त्री

 भदौ २५, २०८० सोमबार १८:३०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ – प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाहरूको भविष्य खोज्न आफू गम्भीरतापूर्वक लागिरहेको बताउनुभएको छ ।

आज सोमवार विराटनगरमा समाजवादी मोर्चा नेपालको प्रदेशस्तरीय सन्देशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यस पटक मेरो सबैभन्दा धेरै चासो र चिन्ता विदेशमा रहेका लाखौँ नेपाली युवाहरूप्रति छ । उनीहरूको भविष्यबारे नसोचिकन देशको परिवर्तन, विकास र रूपान्तरण सम्भव छैन । त्यसैले यस पटक के गरी उनीहरूको हितरक्षा हुन्छ, के गरी उनीहरूको सुरक्षा र आत्मसम्मान हुन्छ, के गरी देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ, त्यसमा गम्भीरतापूर्वक लागेको छु । विदेशमा रहेका लाखौँ युवाहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रक्रिया सुरू गरेका छौँ । केही महिनाभित्र विदेशमा रहेका २५ लाख नेपाली युवाहरूलाई कोषमा आबद्ध गर्छाैँ ।’

प्रधानमन्त्रीले युवाहरू देशभित्रै केही गर्न चाहन्छन् भन्दै त्यसको वातावरण बनाउने जिम्मेवारी राज्यको भएकाे बताउनुभयाे । उहाँले भन्नुभयो, ‘आजदेखि विभिन्न १३ देशमा कार्यरत नेपाली राजदूत बोलाएर अन्तरक्रिया शुरु गरेको छु । विदेशमा रहेका नेपाली कामदारहरूका समस्या के छन् र कसरी सम्बोधन गर्ने भन्ने गम्भीर छलफल गर्छाैँ ।’

नागरिकका समस्या सम्बाेधन गर्न सरकारले मेहनत गरिरहेकाे भन्दै उहाँले भन्नुभयाे, ‘यो सभामा मोर्चाका नेताहरूले जुन विषय राख्नुभएको छ, सरकारप्रति जुन समर्थन र प्रतिवद्धता व्यक्त गर्नुभएको छ, यो आफैँमा महत्त्वपूर्ण छ । यसले मलाई नयाँ उर्जा पैदा भएको छ । यस पटक कुरा होइन, काम र एक्सनबाट केही नयाँ गर्न चाहन्छु । नागरिकका समस्या सम्बोधन गर्न सरकारले जुन मेहनत गरेको छ, त्यसले हाम्रो इमानदार प्रयासलाई प्रमाणित गरिसकेको छ । आज देशमा क्रमशः जुन उत्साह पैदा भएको छ । यसले नागरिकमा भरोसा बढेको छ, देशमा केही हुन्छ भन्ने आशा जागेको छ । यसले निराशालाई चिर्नेछ, समाजवादको आधार तयार पार्न भूमिका खेल्नेछ ।’

प्रधानमन्त्रीले सामाजिक न्याय, सुशासन र समृद्धिबाट नै समाजवादको आधार तयार पार्न सकिने बताउनुभयाे । यसबीचमा मिटरब्याज पीडित किसानलाई न्याय दिइएको, नागरिकताविहीन नागरिकले नागरिकता पाएकाे तथा भ्रष्टाचार र बेथितिका विरुद्ध कठोर कदम चालिएको उहाँले उल्लेख गर्नुभयाे ।

प्रदेशको नामाकरणबारे प्रधानमन्त्रीले भन्नुभयो, ‘विवादलाई संवादको माध्यमबाट समाधान गर्न सकिन्छ र गरिनुपर्दछ । एकथरी मान्छेहरू सामाजिक सद्भाव खलबलाउने र जातीय द्वन्द्व भड्काएर परिवर्तनका उपलब्धि उल्टाउने बहाना खोजिरहेका छन् । त्यसमा हामी सतर्क रहनुपर्छ । परिवर्तनका पक्षमा लाखौँ नागरिकलाई सडकमा ल्याएर प्रतिगमनको हावाहुरी समाप्त पार्नुपर्छ ।’

सन्देशसभामा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतले सम्बोधन गर्नुभएको थियो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया