सुन तस्करी प्रकरण : सीआईबीले प्रतिवेदन बुझाउँदै

 भदौ २६, २०८० मंगलबार १५:३७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हङकङबाट ल्याइएको झन्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ । प्रतिवेदनको लेखन सकेर आज वा भोलिमा नै बुझाउने तयारी गरिएको नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताउनुभयो ।

सङ्गठित अपराधको यस मुद्दामा अनुसन्धान भइरहेकोमा यसै महिनाको ३१ गते ६० दिन पुग्ने भएकाले त्याे अवधिसम्म मुद्दा अदालतमा पुग्नुपर्छ । प्रतिवेदन लेखन लगभग सकिएको र केही प्राविधिक काम बाँकी रहेको सीआईबीका प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।

यस सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा ३० जना प्रहरी हिरासतमा छन् । पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन् । 

चिनियाँ नागरिकले त नेपाली नागरिकतासमेत लिएको खुलेको छ । तस्करीमा भन्सारका कर्मचारीकै मिलेमतो रहेको पाइएकाले पछिल्लो समयमा प्रहरीले भन्सार अधिकृत पुष्पा जोशीसहित नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपाली पक्राउ गरेको थियो ।

गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको 'अपरेशन' का क्रममा हङकङबाट 'ब्रेक शु' मा हालेर ल्याइएको सुन सिनामङ्गलकाे भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको थियो । सुन भन्सार पास भएर निस्किएको थियो । विभागले आवश्यक अनुसन्धान सकेको १८ दिनपछि सुन प्रकरणको अनुसन्धान अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको छ ।  

'ब्रेक शु' सहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम शुद्ध सुन भएको थियो । अहिले याे सुन राष्ट्र बैंकको संरक्षणमा रहेको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया