राजकीय सम्मानका साथ नेम्वाङकाे अन्त्येष्टि

 भदौ २८, २०८० बिहीबार १३:४७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – संविधानसभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएकाे छ । नेम्वाङकाे आज बिहीवार दिउँसाे पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो ।

नेम्वाङकाे पार्थिव शरीरमा उहाँका जेठाे छाेरा मेङ्साे र कान्छाे छाेरा सुहाङले दागबत्ती दिनुभएकाे थियाे । दागबत्ती दिनुअघि नेपाली सेनाको एक टुकडीले नेम्वाङप्रति सलामी अर्पण गरेको थियो ।

नेम्वाङकाे पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा र एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीकाे झण्डा ओढाएर सम्मान गर्नुभयाे । नेम्वाङको हिन्दू र लिम्बू संस्कारअनुसार अन्त्येष्टि गरिएको हाे ।

अन्त्येष्टिअघि नेम्वाङको शवयात्रा गरिएकाे थियाे । नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा गरेकाे हाे । उहाँको निजी निवास बालुवाटारबाट शुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुर्‍याइएकाे थियाे ।

गएको मङ्गलवार बिहान हृदयाघातबाट नेम्वाङकाे ७१ वर्षकाे उमेरमा निधन भएकाे थियाे । सरकारले नेम्वाङकाे निधनकाे शाेकमा आज सार्वजनिक बिदा दिएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया