प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी लीबीच भेटवार्ता शुरु

 असोज ८, २०८० सोमबार ९:३७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी ली छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता शुरु भएको छ । ग्रेट हल अफ दि पिपलमा भेटवार्ता शुरु भएको हो । यसअघि प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री लिले ग्रेट हल अफ दि पिपलमा स्वागत गर्नुभएको थियो ।

उहाँहरूबीच नेपाल–चीन सम्बन्धका विविध पक्ष एवम् द्विपक्षीय हित र चासोका विषयमा विचारविमर्श भएको छ ।  भेटवार्तामा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता रहेको छ । भेटवार्तापछि द्विपक्षीय सहयोग एवम् सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

यसअघि प्रधानमन्त्री ‘प्रचण्ड’ र चिनियाँ पिपुल अफ कङ्ग्रेसका स्थानीय समिति अध्यक्ष चाओ लिजीबीच भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल–चीन सम्बन्ध सन् १९५५ मा औपचारिकरूपमा स्थापना हुनुभन्दा पहिले पाँचौँ शताब्दीमा नै नेपाली बौद्ध भिक्षु बुद्ध भद्रले चीन भ्रमण गरेदेखि नै शुरु भएको उल्लेख गर्नुभयो । उहाँले यस भ्रमणका क्रममा आफ्नो प्रधानमन्त्रीको हैसियतमा नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल भइ नयाँ समझदारी निर्माण गरेको आफूले महसुस गरेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले यस पटकको भ्रमण फलदायी भएको र दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले ‘एसियन गेम्स’ को सफलतापूर्वक आयोजना गरेकोमा चीनलाई बधाई ज्ञापन गर्नुभयो । 

त्यसैगरी अध्यक्ष चाओले दुई देशबीचको सम्बन्ध समानता आधारित रहेको चर्चा गर्दै नेपाल–चीन पञ्चशीलतामा आधारित परराष्ट्र नीतिलाई सम्मान गर्ने बताउनुभयो । चिनियाँ राष्ट्रपति सी जिनपिङले यस भ्रमणलाई महत्त्व दिएको र यस भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ भएको उहाँले बताउनुभयो । अध्यक्ष चाओले नेसनल पिपल अफ कङ्ग्रेस र नेपालबीचको सम्बन्ध विस्तार र सहकार्य गर्न सदैव तयार रहेको उल्लेख गर्नुभयो । 

प्रधानमन्त्री ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । प्रधानमन्त्रीलाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । 

तस्बिर : रासस

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया