इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीका लागि अनलाइन रजिस्ट्रेशनको व्यवस्था

 असोज २२, २०८० सोमबार ६:१८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इजरायलमा रहेको नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीका लागि अनलाइन रजिस्ट्रेशनको व्यवस्था गरेको छ । समस्या र त्रासमा रहेका नेपाली नागरिकहरुको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भनेर सूचना संकलनको काम शुरु गरिएको दूतावासले जनाएको छ । दूतावासका अनुसार यो लिंकबाट अनलाइन रजिस्ट्रेशन गर्न सकिन्छ
https://forms.gle/415GMXE2bZVEoBcR7

अहिले आफू रहेकै ठाउँमा सुरक्षित रहँदै रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन दूतावासले अनुरोध गरेको । यस्तै दूतावासले सूचना निकालेर आक्रमणमा मारिएका १० जना नेपालीको शव ल्याउन पनि आवश्यक प्रबन्ध गरिने जनाएको छ । शव नेपाल फिर्ता पठाउने प्रक्रियाको लागि राजदूतावासले इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा इजरायलमा रहेका सबै नेपालीहरूलाई संयमता अपनाई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न अनुरोध गरिएको छ । दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट १० जना नेपालीहरूको दुःखद निधन भएको विज्ञप्तिमा उल्लेख छ ।

चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको दूतावासको भनाइ छ । साथै, सम्पर्कविहीन रहेका एक जना नेपालीको खोजी कार्य भइरहेको दूतावासले जनाएको छ ।

 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया