रिगलकाे कैद मिनाहा सर्वाेच्चद्वारा बदर, तत्काल पक्राउ गर्न आदेश

 कात्तिक १६, २०८० बिहिबार १६:६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगल भनिने योगप्रसाद ढकाललाई गरेको कैद मिनाहलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । नेपालगञ्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएर जेलमा रहेका रिगललाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा कैद मिनाहा गरिदिनुभएको थियो । सरकारको सिफारिस र राष्ट्रपतिको स्वीकृतिविरुद्ध चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्चमा रिट दिनुभएको थियो ।

रिटमाथि आज बिहीवार सुनुवाइ गर्दै सर्वोच्चका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा गरेको कैद मिनाहलाई कानुन विपरीत भएको ठहर गर्दै बदर गरिदिएको हो । इजलासले रिगललाई बाँकी कैद माफी दिने निर्णय ‘अपराध पीडितको हक प्रतिकूल देखिएको’ भनेको छ । सर्वोच्चले रिगललाई तत्कालै पक्राउ गरेर थुनामा पठाउन उत्प्रेषणको आदेश पनि दिएको छ ।

रिगलले २०७२ असार २८ गते नेपालगञ्जका चेतन मानन्धरलाई खुँडाले हानी हत्या गरेबापत तीनै तहको अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका थिए ।

खुँडाले हानेर मान्छेको हत्या गर्नेजस्तो जघन्य अपराधमा सजाय पाएका व्यक्तिको ६० प्रतिशत कैद मिनाहा गर्ने राष्ट्रपतिको कदमले संविधान र विधिको शासनको धज्जी उडेको भन्दै चेतनी पत्नी भारतीले कसुरदारलाई पुनः कैद गरी पाउँ भनी रिट दायर गर्नुभएको थियो । सरकार र राष्ट्रपतिको निर्णयको चौतर्फी आलोचना पनि भएको थियो । यसबारेमा प्रष्टीकरण दिँदै राष्ट्रपति पौडेलले सरकारले गरेको सिफारिस सदर गर्नुपर्ने संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्नुभएको थियो ।

सर्वोच्च अदालतले अदालतमा विचाराधीन मुद्दामा अल्प सूचनाको आधारमा समाचार प्रकाशन र प्रसारण नगर्न सञ्चारमाध्यमलाई निर्देशनात्मक आदेश पनि जारी गरेको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया