पुनमको फिल्ममा साम्राज्ञी अनुबन्धित

 कात्तिक २०, २०७५ मंगलबार १२:३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

पुनम इन्टरटेनमेन्टले निर्माण गर्न लागेको नयाँ फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छन् । इन्टरटेनमेन्टकी प्रमुख तथा निर्माता पुनम गौतम क्षेत्रीले आफ्नो नयाँ फिल्ममा साम्राज्ञीलाई अनुबन्ध गरेको पुष्टि गरिन् । 

‘पटकथाको पहिलो ड्राफ्ट तयार भएदेखि नै साम्राज्ञी हाम्रो पहिलो रोजाइमा थिइन् । अन्ततः हामी एक अर्कासँग काम गर्न तयार भएका छौं,‘ उनले भनिन्, ‘एउटा सुन्दर फिल्म बनाउने हाम्रो अभिलाशा साम्राज्ञीको आगमनसँगै झन् मजबुत भएको अनभूति भएको छ ।’

नायिका साम्राज्ञीले पनि फिल्मको कथा रोचक लागेकोले अभिनयका लागि राजी भएको बताइन् । ‘इन्टु मिन्टु लन्डनमा पछि जति पनि कथा सुनिरहेकी थिएँ त्यसमा यो फिल्मको कथा बिल्कुलै फरक छ । कथासँगै निर्माण टिम पनि राम्रो लागेकाले यो फिल्म गर्न राजी भएकी हुँ,’ साम्राज्ञीले भनिन् ।

फिल्ममा साम्राज्ञीको आगमनसँगै मुख्य भूमिकामा अभिनय गर्ने कलाकारको टुंगो लागेको निर्माता गौतमले बताइन् । फिल्ममा यसअघि नै पुष्प खड्का र रेबिका गुरुङ फाइनल छन् । 

माघको दोस्रो हप्ताबाट फ्लोरमा जाने फिल्मको नाम भने निर्माण टिमले अहिलेसम्म पनि सार्वजनिक गरेको छैन । बाँकी कलाकार र नाम औपचारिक कार्यक्रम गर्दै सार्वजनिक गर्ने निर्माण टिमको तयारी रहेको छ । 

गोविन्द फुयाँलको लेखन रहेको फिल्मलाई नवल नेपालले निर्देशन गर्दैछन् । फिल्मको छायाँकारको रुपमा पनि सञ्जय लामा अनुबन्धित भइसकेका छन् । फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहनेछ । निर्माणमा पुनम गौतमलाई राजा प्रधानले सघाउने छन् ।  

–उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया