शङ्खधर साख्वाले गरेकाे लोककल्याणकारी कार्यलाई सबैले अनुसरण गर्नुपर्छ : राष्ट्रपति पाैडेल

 कात्तिक २८, २०८० मंगलबार ८:२०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा जोड दिनुभएको छ । 

‘नेपाल संवत् ११४४’ प्रारम्भ भएका अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति पौडेलले साख्वाले काठमाण्डाै उपत्यकामा रहेका किसान तथा गरिब नागरिकलाई ऋणमुक्त गर्नु भएको परोपकारी कार्यलाई सबैले अनुशरण गर्नुपर्ने बताउनुभएको छ । 

राष्ट्रपति पौडेलले चाडपर्व र यस खालका असल परम्पराले नेपाली समाजलाई सभ्य र सहिष्णु बनाउँदै लगेको उल्लेख गर्दै साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् मौलिक राष्ट्रिय संवत् रहेको बताउनुभएको छ । यस संवतकाे पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदादेखि शुरु हुन्छ । यस दिनलाई नेपाल संवतको नयाँ वर्षको रूपमा काठमाण्डाै, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखालगायत ठाउँहरूमा नयाँ संवत् शुरू हुने दिनका रूपमा विशेष पर्वका रूपमा मनाउने गरिन्छ ।

राष्ट्रपति पौडेलले नेपाल संवतले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया