भूकम्पबाट प्रभावित भएकाहरुलाई चिसोको सास्ती

 कात्तिक ३०, २०८० बिहीबार ७:५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बेलैमा न्यानो र राम्रो गरी राहत नपाउँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित चिसोले बिरामी पर्न थालेका छन् । भूकम्प गएको दुई हप्ता भैसक्दा पनि खुला आकाशमुनि रहेका धेरैजसो प्रभावितलाई चिसोले सताउन थालेको छ । घर भत्केका र चर्केका उनीहरु खुला आकाशमुनि बसिरहेका छन् ।

तत्काल राहतका त्रिपाल, फोम र खाद्य सामग्री विभिन्न सङ्घसंस्थाले बाँडेका थिए । तर त्रिपालले चिसो थेग्नुभन्दा अझ बढी चिसो बनाउँदा भूकम्प प्रभावित चिसोले थलिन थालेका हुन् । बालबालिका, सुत्केरी र वृद्धवृद्धा चिसो सहन नसकी बिरामी परेका छन् ।

त्रिपालको भरमा केटाकेटी र बुढाबुढी जोगाउन गाह्रो परेको जाजरकोटको नलगाड–१, चिउरीका सन्तोष कुमाइको गुनासो छ । चिसो बढ्न थालेसँगै पीडितलाई कसरी जोगाउने भन्ने अर्को चिन्ता थपिएको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले बताउनुभएको छ ।

एकसरो त्रिपाल, कम्बल र केही राहत सामग्री दिए पनि चिसोबाट बचाउन स्थायी संरचना बनाउन ढिला हुने भएकाले थप समस्या देखिएको घर्तीले बताउनुभयो । सरकारले तत्काल अस्थायी संरचना निर्माणका साथै पुनर्निर्माणका काम थाल्ने भने पनि अहिले बालबालिका, सुत्केरी, वृद्धवृद्धा बिरामी हुन थालेका छन् ।

भूकम्पको केन्द्रबिन्दु जाजरकोट यसअघि पनि झाडापखालाबाट निक्कै प्रभावित भएको जिल्ला हो । अहिले पनि रुघाखोकी, ज्वरो र अन्य सरुवा रोगको जोखिम बढेको छ । उनीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर अवस्था थप नाजुक हुन नदिन डाक्टरसहित स्वास्थ्यकर्मीको टोली निरन्तर प्रभावित क्षेत्रमा खटिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.रविन खड्काले बताउनुभएको छ । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया