गर्भवतीको घरमा निलो झण्डा

 मंसिर २, २०८० शनिबार १४:४७:११ | रासस
unn.prixa.net

हुम्ला – हिमाली जिल्ला हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले गर्भवतीको घर सहजै पहिचान होस् भनेर निलो झण्डा राखेको छ । वडा नम्बर १ देखि ८ सम्म पालिकाको मातहतका सबै स्वास्थ्य चौकीअन्तर्गत रहेका गर्भवतीको घरमा निलो झण्डा राखिएको हो । सहजै गर्भवतीको घर पहिचानका लागि निलो झण्डा राखिएको स्वास्थ्य शाखाले जनाएको छ ।

सिमकोट–१ देखि ८ नम्बर वडासम्म एक सय १० जना गर्भवती रहेका स्वास्थ्य शाखा संयोजक नरबहादुर भण्डारीले जानकारी दिनुभयो । उनीहरुको घर पहिचान गर्न सहज होस् भनेर सबैको घरमा निलो झण्डा राखिएको उहाँले बताउनुभयो ।

गर्भवती महिला सुत्केरी नहुञ्जेलसम्म गर्भजाँचका साथै उनीहरुलाई आवश्यक अन्य सेवा प्रवाहमा सहजता, लक्षित वर्ग पहिचानका लागि यो अभियान सञ्चालन गरिएको भण्डारीले बताउनुभयो । सबै वडामा रहेका स्वास्थ्य संस्थालाई दशैँ र तिहारका बीचमा निलो झण्डा वितरण गरिएको जनाउँदै ‘गर्भवती पहिचान घर कार्यक्रम’ अन्तर्गत गर्भवतीको घरमा झण्डा राखिएको उहाँले बताउनुभयो ।

‘स्वास्थ्यकर्मी पुग्दा पनि निलो झण्डाले महिलाको घर पहिचान गर्न सजिलो हुनेछ । यो अभियानले घरमा सुत्केरी गराउनेको सङ्ख्या घट्ने अनुमान गरेका छौँ,’ स्वास्थ्य संयोजक भण्डारीले भन्नुभयो, ‘पालिकाभित्रका वडा १ देखि ८ सम्म शिशु र आमाको मृत्युदर घटाउने उद्देश्यले यो अभियान सञ्चालन गरेका छौँ ।’ झण्डाले घर पहिचान हुने र स्वास्थ्यकर्मीलाई पनि घरमै गएर सेवा दिन सहज हुने उहाँले बताउनुभयो ।

भण्डारीका अनुसार सिमकोट गाउँपालिका वडा १ मा आठ, २ मा १५, ३ मा दुई, ४ मा चार, ५ मा १६, ६ मा १२, ७ मा २३ र ८ मा ३० जना सुत्केरी गराउनेको सङ्ख्या रहेको छ ।

ग्रामीण भेगमा आर्थिक अभाव, जनचेतनाको कमी, रुढीवादी परम्परालगायत कारणले घरमै सुत्केरी गराउँदा आमा र शिशु दुवैलाई जोखिम हुने भएकाले झण्डामार्फत् घर पहिचान गरेपछि स्वास्थ्यकर्मीले विशेष प्राथमिकतामा सेवा प्रदान गर्न सक्ने स्वास्थ्य शाखा संयोजक भण्डारीको भनाइ छ । उहाँका अनुसार यस अभियानअन्तर्गत गर्भावस्थामा नियमित स्वास्थ्य जाँच गर्ने, आवश्यक सुई लगाइने, पोषिलो खाना तथा अन्य विषयमा जनचेतना दिनेलगायत कार्यक्रम सञ्चालन गरिएको छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया