विश्व कप फुटबल छनोटमा नेपालले आज यमनसँग खेल्दै : यस्तो छ, 'हेड टू हेड'

 मंसिर ५, २०८० मंगलबार ६:१९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै - फिफा विश्व कप फुटबल २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपालले आज यमनसँग खेल्दैछ । समूह 'एच' मा रहेका नेपाल र यमनबीचको खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ७ बजे शुरु हुनेछ । नेपालले घरेलु मैदानमा आज दोस्रो चरणको दोस्रो खेल खेल्न लागेको हो ।

फिफा वरीयतामा यमन १ सय ५६ औँ र नेपाल १ सय ७३ औँ स्थानमा छ । यसअघि गएको बिहीवार दुबईमा भएको पहिलो खेलमा समूहकै सबैभन्दा बलियो टोली यूएईसँग नेपाल ४–० गोलले पराजित भएको थियो।

यमन पनि पहिलो खेलमा घरेलु मैदानमा बहराइनसँग २–० गोलले पराजित भएको थियो । खेलअघि हिजो भएको पत्रकार सम्मेलनमा नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यमनसँगको खेलका लागि टोली तयार रहेको र जितकै लागि खेल्ने बताएका छन् ।

कप्तान किरणकुमार लिम्बुले यूएईसँगको हारलाई बिर्सेर अघि बढ्नुपर्ने र त्यसैअनुसार यमनसँग खेलका लागि उत्साहित रहेको बताए । उनले घरेलु मैदानमा समर्थकको उत्तिकै साथ रहने पनि बताए । नेपाल र यमनबीच आज हुने खेलका लागि साधारण प्यारापिटतर्फ ४ सय र भीआईपी प्यारापिटतर्फ १ हजार रुपैयाँ टिकट दर कायम गरिएको अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ ।

नेपाल र यमनले अहिलेसम्म चार खेल खेलेका छन् । तर नेपालले यमनलाई हराउन सकेको छैन । सन् २०१७ मा नेपालमै भएको एएफसी कप छनोटको खेलमा यमनलाई गोलरहित बराबरीमा रोक्नु नै नेपालको उपलब्धि हो ।

एसियन कप छनोट अन्तर्गत नै २०१८ मा दोहामा भएको खेलमा नेपाल यमनसँग २–१ गोलले पराजित भएको थियो । त्यसअघि सन् २००० मा भएको एसियन कप छनोटको खेलमा नेपाल यमनसँग ३–० गोलले र सन् २०१४ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल यमनसँग २–० गोलले पराजित भएको थियो ।

नेपाल छनोटको पहिलो चरणमा लाओसलाई हराएर दोस्रो चरणमा पुगेको हो । दोस्रो चरणको समूह एचमा नेपालसहित यूएई, बहराइन र यमन रहेका छन् । समूहको शीर्ष दुई स्थानमा रहने टोली एसिया कपका साथै विश्व कप छनोटको अर्को चरणमा पनि पुग्नेछन् । तेस्रो र चौथो स्थानमा रहने टोली एसिया कपमा पुग्न फेरि खेल्नुपर्नेछ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया