हमाससँग युद्ध विरामका लागि इजरायलको मन्त्रिपरिषद्मा मतदान हुँदै

 मंसिर ६, २०८० बुधबार ६:४१:५५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – हमाससँगको युद्धविरामका लागि इजरायलको मन्त्रिपरिषद्मा आज मतदान हुँदैछ । इजरायल र हमास बीच वार्ताको मध्यस्थता गरिरहेको कतारले सम्झौताको नमुना पठाएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मतदानका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री नेतान्याहुले प्यालेस्टिनी कैदीहरूको रिहाइ र लामो अस्थायी युद्धविरामको बदलामा केही बन्धकहरूलाई मुक्त गर्न सम्झौतामा हस्ताक्षर गर्न चाँडै शुभ समाचार आउने बताउनुभएको छ । इजरायलको मन्त्रिपरिषद्को युद्धविराम बारेको बैठकपछि सुरक्षा बैठक बस्ने र सरकारले नयाँ निर्णय लिने बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयले निकालेको विज्ञप्तिमा बन्धक रिहा गर्नेबारे छलफलका लागि मन्त्रिपरिषदको विशेष बैठक बोलाएको उल्लेख छ । सम्झौतालाई मन्त्रिपरिषद् र सरकार दुवैमा छलफलमा ल्याइ निर्णय गर्नुपर्ने व्यवस्था छ । यसअघि हमासका नेता इस्माइल हनियाहले पनि समूहका अधिकारीहरू इजरायलसँग युद्धविराम सम्झौतामा पुग्न नजिक रहेको बताउनुभएको थियो ।

सम्झौताको नमुनामा इजरायली जेलबाट प्यालेस्टिनी बन्दीहरूको रिहाइको सट्टामा हमासले बन्दी बनाएका झण्डै ५० नागरिकको रिहाइ गर्न र लडाइ केही दिनका लागि रोक्ने उल्लेख छ । गएको अक्टोबर ७ मा हमास लडाकुहरूले गरेको आक्रमणमा १२ सय जनाको ज्यान जानुको साथै २ सय ४० जनालाई हमासले बन्धक बनाएको थियो । त्यही दिन इजरायलले शुरु गरेको आक्रमणपछि गाजा पट्टीमा कम्तीमा १३ हजार मानिस मारिएका छन् । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया