तीन सातापछि सार्वजनिक कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री ओलीले सबैलाई हँसाए

 कात्तिक २१, २०७५ बुधबार १८:८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेको तीन सातापछि बुधबार पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुनु भएको छ । 

चिकित्सकहरुको परामर्शमै प्रधानमन्त्री ओली महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १० औं जन्मजयन्तीको अवसर पारेर बुधबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रममा सहभागी हुनु भएको हो । 

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पहिलो पटक सार्वजनिक हुनु भएका प्रधानमन्त्री ओलीले सदाझैँ व्यंग्य मिश्रित भावसहित भाषण गर्न पनि भ्याउनुभयो । उहाँले भाषणको सुरुवातमै सबैलाई प्रमुख अतिथि भनेपछि हल हाँसोले गुञ्जायमान भएको थियो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले महाकवि देवकोटा जस्तो विद्वान कवि विश्वमा कतै पनि नभएको पनि स्मरण गराउनुभयो ।

प्रधानमन्त्री ओलीले महाकवि देवकोटालाई बेगवान कविको रुपमा पनि चित्रण गर्नुभयो । उहाँले अत्याधिक धूमपान गरेर देवकोटाले गम्भीर भूल गरेको तथ्य पनि त्यस अवसरमा स्मरण गराउनुभयो ।

कार्यक्रममा साहित्यकारहरुले महाकवि देवकोटाको व्यक्तित्व र कृतित्वको स्मरण गर्दै कविता वाचन गरेका थिए । यसैबीच, प्रधानमन्त्री केपी ओली आफूहरुले दिएको सुझाव अनुसार नै बुधबारबाट सार्वजनिक कार्यक्रममा सहभागी उल्लेख गर्दै त्यसले कुनै असर नपार्ने वरिष्ठ चिकित्सक अरुण सायमीले बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीसँगै महाकवि देवकोटाको जन्मजयन्ति कार्यक्रममा पुग्नु भएका उहाँले कला र साहित्यमा मरिमेट्ने प्रधानमन्त्री ओलीलाई धेरै नबोल्न भने पुनः सुझाव दिनुभयो । प्रधानमन्त्री ओली छातीमा समस्या देखिएपछि तीन साताअघि महाराजगञ्जस्थित मनमोहन भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका लागि भर्ना हुनु भएको थियो ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया